बक्यौता तिर्न १९५ कम्पनीलाई प्राधिकरणको अल्टिमेटम, २ अर्ब उठाउन बाँकी

0
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरणले मातहतका विभिन्न निकाय, एयरलाइन्स, सरकारी कार्यालय, फर्म एवं व्यक्तिलाई बक्यौता रकम बुझाउन आग्रह गरेको छ ।

सरोकार भएका ती निकायले विभिन्न शीर्षकमा रकम भुक्तानी गर्न बाँकी रहेको देखिएको भन्दै प्राधिकरणले आज सूचना निकालेर ३० दिनभित्र उक्त रकम र नियमानुसार विलम्ब शुल्कसमेत बुझाउन आग्रह गरेको हो । 

प्राधिकरणलाई बक्यौता रकम बुझाउनुपर्ने १९५ कम्पनी, सरकारी कार्यालय, फर्म तथा व्यक्ति रहेका छन् । लामो समयदेखिको बक्यौता बुझाउन र विलम्ब शुल्क लाग्ने भए सोसमेत बुझाई आफ्नो हरहिसाब फरफारक गर्नु सूचनामा भनिएको छ ।

तोकिएको मितिभित्रमा पनि उक्त रकम प्राप्त नभएमा प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली २०६७ तथा अन्य प्रचलित ऐन, कानूनअनुसार रकम असुल गर्नेतर्फ आवश्यक कारवाही अगाडि बढाउने चेतावनी दिएको छ ।

प्राधिकरणलाई बढी बक्यौता बुझाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय, नेपाल एयरलाइन्स तथा निजी क्षेत्रका एयरलाइन्स कम्पनीहरु रहेका छन् ।

यही असोज २ गते प्राधिकरणको बजेट सार्वजनिक कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बक्यौता बुझाउन अटेर गर्ने कम्पनीलाई सार्वजनिक सूचना निकालेर ताकेता गरिने बताएका थिए ।

प्राधिकरणले विभिन्न वायु सेवा प्रदायक कम्पनी, सरकारी निकाय तथा व्यक्तिबाट पुरानो र नयाँ गरी करीब २ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । गत असार मसान्तसम्म २ अर्ब रुपैयाँ बक्यौता उठाउनुपर्ने दायित्व भएको उल्लेख गरेको छ । बक्यौतामध्ये सबैभन्दा बढी भन्सार विभागको ५४ करोड रुपैयाँ , एयर एशियाको २२ करोड रुपैयाँ रहेको छ।

त्यस्तै, युनिभर्सल सप्लाई एजेन्सीको आठ करोड ७२ लाख रुपैयाँ , रसुवा केडीजेभीको पाँच करोड ६२ लाख रुपैयाँ, नेकोन एयरको चार करोड ७२ लाख रुपैयाँ, ग्रिनलाइन इन्टरनेशनलको एक करोड ७८ लाख रुपैयाँ, किङ फिसर एयरलाईन्सको एक करोड १५ लाख रुपैयाँलगायत रहेको छ ।