नेपाली बैंकहरुबाट पाँच अर्ब रुपैयाँ लुट्ने भारतीय ह्याकरको योजना विफल

0
Shares

कृषि विकास बैंकको ४ करोड ७३ लाख रुपैयाँ ट्रान्सफर कार्यमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेपछि नेपाली बैंकहरुबाट पाँच अर्ब रुपैयाँ लुट्ने भारतीय ह्याकरको योजना विफल भएको छ ।

मंगलबार लहान शाखाका ब्राञ्च म्यानेजरको पासवर्ड ह्याक गरी करोडौं लुट्ने गिरोह प्रहरीको फन्दामा परेसँग सोे योजना विफल भएको हो। भारतीय ह्याकरको योजनामा कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ ट्रान्सफर गरिएको प्रहरी अनुसन्धानले देखाएको छ। लाहान शाखाबाट सो रकम कृषि विकास बैंककै अन्य खातामा ट्रान्सफर गरिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

सो मध्ये ६० लाख रकम ह्याकर समूहले झिकेको र सो कार्यमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरको छ । कृषि विकास बैंकको लाहान शाखाको रकम ११ वटा खातामा ट्रान्सफर भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

ह्याकर समूहको ५ अर्ब रुपैयाँ झिक्ने योजना रहेको एसएसपी थापाले दाबी गरे। विदेशी नागरिक ’काले’ भन्ने ’पिटर’ ले मुम्बइमा बसेर नेपाली बैंक तथा वित्तीय संस्था लुट्ने योजना बनाएको प्रहरीको भनाई छ । पिटरले ह्याक गरेको रकम विभिन्न नेपाली ब्यक्तिहरुको नाममा निकाली १५ देखि ३५ प्रतिशतसम्म कमिसन दिइ हुन्डिमार्फत बाँकी पैसा भारत लैजाने गरेको फेला परेको छ।

पानस रेमिटको उजुरी आधारमा कृषि विकास बैंकको ह्याकिङ प्रकरण खुलासा भएको हो। असोज ५ गते सो रेमिट कम्पनीले संकास्पद गतिविधिबारे प्रहरीमा उजुरी गरेको थियो। त्यसपछि प्रहरीले राष्ट्र बैंकको सहयोगमा अनुसन्धान अघि बढाएको थियो।

पक्राउ पर्नेहरुमा लवाङ तामाङ, लक्ष्मी तामाङ (रसुवा), सञ्जय घले (काभ्रेस्थली, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का (सर्लाही), विद्यासागर लामिछाने (लमजुङ) छन्। यसैगरी श्रमणकुमार श्रेष्ठ (तनहूँ), सुनिता श्रेष्ठ, सुवम्कर पञ्जा (कोलकाता, भारत), विजय साह (कैलाली) तथा चन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।