जानकारहरु भन्छन् लगानी गर्ने बेला यहि हो, तर बाहिरँदै छन् शेयर लगानीकर्ता

0
Shares

शेयर बजार निरन्तर ओरालो लाग्ने क्रममा एघार सय विन्दुको नजिक पुग्न थालेको छ । अधिकांस कम्पनीको शेयर मूल्य आईपीओकै हाराहारीमा पुगेको छ भने कतिपय कम्पनीहरुको मूल्य आईपीओको मूल्य भन्दा पनि तल झरिसकेको छ।

धेरै कम्पनीहरुको शेयर भाउ तल झरेको अवस्थामा शेयर बजारका विश्लेषक, बजारले पत्याएका पुराना र ठूला लगानीकर्ता मात्र होईन अर्थमन्त्रीले समेत शेयरमा लगानी गर्ने यतिबेला उपयुक्त अवसर रहेको बताउँदै आएका छन् तर शेयर बजारमा भने शेयर किन्नेहरु भन्दा बिक्री गर्नेहरुकै चाप रहेको छ ।

बजार घट्दै जाँदा गत साता मात्र शेयर बजारबाट लगानीकर्ताको सम्पत्ति ३२ अर्ब १० करोड रुपैयाँले छ। गत साता १४ खर्ब ६७ अर्ब रहेको बजार पूँजीकरण १४ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ । नेप्से सूचक २५ अंकले तल झरेर ११२९.८० बिन्दुमा छ । कुनै बेला दैनिक अर्ब बढीको कारोबार हुने बजारमा अहिले औषतमा २० करोडको मात्र कारोबार हुने गरेको छ । साताभरमा अर्ब पुग्न पनि मुस्किल देखिन्छ ।

अर्थमन्त्रीकै भनाई अनुसार अर्थतन्त्रका धेरैजसो सूचकहरु सुधारउन्मुख छन् । राष्ट बैंकले पनि अर्थतन्त्रमा सुधार हुँदै गएको बताएको छ । शेयर बजारमा सूचीकृत अधिकांस कम्पनीहरुको नाफामै छन् । बैंक र बीमाको बजार विस्तार हुँदै गएको छ। विगतका बर्षहरुमा जस्तै धेरै कम्पनीले आकर्षक लाभांश प्रस्ताव गरेका छन् । कतिपयले साधारणसभा सकेर बाड्न पनि थालिसके तर लाभांशको सिजनमा बजार भने ओरालो लागेको लाग्यै छ ।

विगतका बर्षहरुको भन्दा बजार प्रविधिमैत्री बन्दै छ ।आईपीओ तथा हकप्रद भर्न लाइन बस्न पर्दैन, शेयर खरिद बिक्री गर्न ब्रोकर कार्यालयमै धाउन पर्दैन । नियामक निकायहरुले बजारलाई थप चलायमान बनाउन प्रयत्न पनि गरिरहेका छन् । तर बजारका लगानीकर्ताको विस्वास फिर्न सकेको छैन् । सरकारले विश्वासको वातावरण बनाउन नसक्दा लगानीकर्ताले शेयरमा लगानी बढाउनुको साटो शेयर बेचेर बजारबाट बाहिर निस्कने प्रयत्नमा लागेका छन् शेयर बजारमा सुधारको संकेत नदेखिँदा लगानीकर्ता शेयर बजारप्रति आकर्षित हुन नसकेको देखिएको छ।

नेप्से घटबढ हुनु शेयर बजारको नियम नै हो तर लगातारको घटाइपश्चात पनि बजार सुधारको लागि नियामक निकायबाट कुनै पहल नभएको लगानीकर्ताको आरोप छ । धितोपत्र बोर्ड तथा नेप्सेले बजार सुधारको लागि काम नगरेको अवस्था भने पक्कै होईन । 

नजिकिँदै गरेको नेपालीहरुको महान चाड वडा दशैंका लागि लगानीकर्ताहरु खर्च जोहो गर्न लाग्दा पनि बजार सूचक र कारोबारमा दबाब सिर्जना भएको जानकार बताउँछन्। लगानीकर्ताहरु घाटा नै खाएर भएपनि शेयर बेचेर खर्च जोहो गर्नेतर्फ लागेको देखिन्छ । यसले बजारमा केहि दबाब परेपनि शेयर बजारको समस्या भने पहिचाँन हुन सकेको छैन ।

शेयर बजारको सबैभन्दा ठूलो समस्या भनेको लगानीकर्ताको मनोविज्ञान हो । कुनैबेला यिनै अर्थमन्त्रीले भनेका थिए । शेयर बजार १५ /२० जनाको मुठ्ठीमा छ यसलाई त्यसबाट बाहिर ल्याउनुपर्छ । त्यस प्रकारको प्रयास भईरहदा बजारका खेलाडिहरुले उनलाई असफल बनाउन बजारमा खेल्ने गरेका छन् ।

शेयर बजारको विस्तार र पहुँच बढ्दै गएको छ । तर बजारमा भित्रिएको प्रविधिप्रति अधिकांस लगानीकर्ता अभ्यस्त हुन सकेका छैनन् । बजार अनलाइनमा गइसक्दा पनि अनलाइन कारोबार गर्नेहरु उल्लेखीय रुपमा बढ्न सकेका छैनन् । धेरैजसो लगानीकर्ताहरुले आफ्नै निर्णयमा खरिद बिक्रीको निर्णय लिन सक्दैनन् । बजारमा चलखेल गर्न बसेका सल्लाहकार र उनीहरुको कारोबार सहयोगिले आफ्नो तरिकाले परिचालन गर्ने प्रवृति बजारमा देखिन्छ । यसले पनि बजार चलायमान हुन सकेको छैन ।

बजारका यावत समस्याले भन्दा पनि केहि ब्रोकर र ठूला घरानीया लगानीकर्ताहरुले जहिले पनि बजारलाई आफ्नो अनुकुल चलाउने प्रयास गर्दा बजारमा तीब्र उतारचढाब हुने गरेको छ । यस्तो अवस्थामा सोझा र सामान्य लगानीकर्ता फस्ने गरेका छन् । भाषण, वक्तव्य र मिडियाबाजीबाट जोगीएर संचेतनाका साथै प्रविधिमैत्री बजारतर्फ लगानीकर्ताले ध्यान दिने हो भने शेयर बजारमा सुरक्षित लगानी गर्न सकिन्छ ।

लह लहै र अरुको इसारामा लगानीगर्नेले कहिले काँहि त फाइदा लिन सक्लान तर अधिकांस समय गुमाएकै हुन्छन् । लगानीकर्ताले बजारले दिएको अवसरलाई पहिचान गर्न सक्नुपर्छ, बजारले पटक पटक अवसर दिदैँन, धेरैले अहिले भन्ने गरेका छन् । लगानीगर्ने उपयुक्त मौका यहि हो ।