लगातार दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार पनि बढ्यो

0
Shares

पछिल्लो दुई दिन शेयर बजारमा लगातार दोहोरो अंकको सुधार आएको छ । शेयर लगानीकर्ताले दशैंका लागि शेयर बेचेर खर्च जुटाएसँगै शेयर बिक्रीको चाप घट्दा बजारमा सुधार आएको हो ।

सोमबार १० अंकले सुधार देखिएको बजार मंगलबार १०.१३ अंकले बढेर ११४५.६९ विन्दुमा पुगेको छ। १६४ कम्पनीका १३ लाख ८६ हजार कित्ता शेयर ३१ करोड १४ लाख रुपैयाँ बराबरमा किनबेच भयो । अघिल्लो दिन १६ करोड बराबरको कारोबार भएको थियो ।

मंगलबार ६ वटा कम्पनीको करोड बढीको कारोबार भयो । सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको ७ करोड रुपैयाँ बराबरको प्रमोटर शेयर किनबेच भयो ।

शिवम् सिमेन्टको ४ करोड, मेघा बैंकको एक करोड ३४ लाख, नेपाल दुरसञ्चारको एक करोड २९ लाख र हिमालयन डिष्टिलरीको एक करोड ६ लाख रुपैयाँ बराबरको शेयर खरिरद बिक्री भएका छन् । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ३ करोड बराबरको प्रमोटर सेयर किनबेच भएको छ ।

यस दिन कारोबार भएकामध्ये ३ समूहबाहेक बाँकी सबैका सूचक बढेका छन् । निर्जीवन बिमा समूह सबैभन्दा बढी ४९.१२ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक पनि १२.८१ अंकले माथि लागेको छ । उत्पादनमूलक, होटल र म्युचअल फण्ड ओरालो लागेका छन् भने कारोबारमा आएका बाँकी समूह उकालो लागेका छन् ।

मंगलबार चार कम्पनीको सेयर मूल्य ६ प्रतिशत बढीले बढेको छ । सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.८५ प्रतिशतले बढेको छ । त्यस्तै, यूनाईटेड फाइनान्सको ६.५९, रिलायन्स फाइनान्सको ६.३६ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.०९ प्रतिशतले घटेको छ ।