स्थानीयवासीलाई बिक्री गरेको शेयरको लकईन पिरियड घट्ने

0
Shares

नेपाल धितोपत्र बोर्डले कम्पनी प्रभावीत क्षेत्रका स्थानीयलाइ दिएको शेयरको लकइन पिरियड घटाउने भएको छ ।

हाल विवरणपत्र प्रकाशन गरी निष्काशन गरिएको धितोपत्र बाहेक अन्य संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक निष्काशन गरेको शेयर बाँडफाँड भएको मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाईने व्यवस्था छ ।

बोर्डले धितोपत्र दर्ता निष्काशन नियमावली, २०७३, लाइ संशोधन गरेर हाल रहेको ३ वर्षको अवधि घटाइने जनाएको हो । नियमावली संशोधन गरेर धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा मूल्य निर्धारण गर्न बुक बिल्डिङ्ग बिधिमार्फत पनि गर्न सकिने व्यवस्था थप गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी हकप्रद शेयर निष्काशन सम्बन्धी निर्णय भएको बढीमा दुई महिनाभित्र उक्त प्रस्ताव साधारण सभामा पेश गरी सक्नु पर्ने व्यवस्था समेत थप गर्ने प्रस्ताव गरेको छ ।

साविक शेयरधनीहरुले हकप्रद शेयरका लागि शत प्रतिशत बढी आवेदन गर्न सक्ने तथा बाँकी रहेको हकप्रद शेयरको लागि बाँडफाँड भएको मितिले ७ दिन भित्र लिलाम बढाबढको लागि सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था गर्ने गरी नियमावली संशोधनको प्रस्ताव गरेको छ ।

बोर्डले सो शेयरको लिलाम बढाबढको सूचना दिँदा बोलकबोलका लागि बढीमा पन्ध्र दिनको सूचना प्रकाशित गर्नु पर्ने तथा लिलाम बढाबढ बाँडफाँड भएको ७ कार्य दिन भित्र लगानीकर्तालाई बाँडफाँडपत्र सहित रकम फिर्ता गर्नुपर्ने व्यवस्था समेत नियमावलीमा थप गर्न लागेको हो ।