तेह्रथुम पावरले माग्यो १२ करोडको आईपिओ बिक्री अनुमति

0
Shares

तेह्रथुम पावर कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको प्रक्रिया अगाडि बढाउँदै नियामक निकाय धितोपत्र बोर्डसँग शेयर बिक्री गर्न अनुमति मागेको हो।

कम्पनीले यसअघि नै आईपीओ जारी गर्न एनआइबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
कम्पनीले जारी पूँजीमध्ये १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको चार लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्नेछ । यस्तै २० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बरारबरको आठ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

हाल उक्त कम्पनीको अधिकृत पूँजी ४० करोड, जारी पूँजी ४० करोड र चुक्ता पूँजी २८ करोड रहेको छ । स्थानीय बासिन्दा र सर्वसाधारणमा शेयर बिक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ४० करोड पुग्ने कम्पनीका प्रबन्ध सञ्चालक डाँगीले जानकारी दिए ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाको साविक मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविस हाल मेन्छेयायेम गाउँपालिकामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला साना जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । हालसम्म सो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत धेरै पुगेको छ।

नेपाल विद्युत प्राधिकरणसँग विसं २०७३ कात्तिकमा विद्युत खरीद सम्झौता गरेको आयोजनाले २०७६ पुस १ गतेदेखि व्यावसायिक उत्पादन गर्नुपर्नेछ। आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा नेपाल बङ्गलादेश बैंक, जनता बैंकले क्रमशः ४० करोड, ३० र ३० करोड रुपैयाँ लगानी रहेको छ ।