एक करोड नेपालीको दोहोरो निक्षेप खाता, ६१ प्रतिशत वित्तीय पहुँचमा

0
Shares

विभिन्न बैंक तथा वित्तीय संस्थामा झण्डै एक करोड नेपालीको दोहोरो निक्षेप खाता रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत जेठसम्ममा ९८ लाख नेपालीको बहु निक्षेप खाता रहेको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय पहुँचको अवस्थालाइ अध्ययन गर्दा दोहोरो खाता तथा विदेशी नागरिकको पनि निक्षेप खातालाइ हेर्दा नेपालको कुल जनसंख्याको ९४.१ प्रतिशतको निक्षेप खाता रहेको देखिएको छ । तर, त्यसमा दोहोरो खाता र विदेशी नागरिकको खातालाइ हटाउदा निक्षेप खाताको आधारमा वित्तीय पहुँचलाइ हेर्दा ६०.९ प्रतिशत मात्र रहेको अध्ययनमा उल्लेख छ ।

बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा मात्र रहेका निक्षेप खाताको आधारमा करिब ६१ प्रतिशत नेपाली वित्तीय पहुचमा रहेको देखिन्छ । तर, अन्य वित्तीय कारोबार गर्ने संस्थाहरुको सेवालाइ पनि हेर्दा वित्तीय पहुँचको अवस्था ६०.९ प्रतिशत भन्दा धेरै हुन आउछन ।

व्यक्तिगत सम्बन्ध तथा सहजताको कारणले गर्दा एक संस्थामा निक्षेप खाता भएपनि अन्य संस्थाहरुमा पनि सोही प्रकृतीका खाता खोल्ने प्रबृद्धि देखिएको हो । तर, विगतका वर्षको तुलनामा निक्षेप तथा कर्जाखाता खोल्नेको संख्या पनि वढ्दो रहेको सो अध्ययनले देखाएको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै यी संस्थाहरुमा निक्षेप र कर्जा खाताको संख्या उल्लेख्य बढ्दै गएको छ । २०७६ असार मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको देखिन्छ । २०७५ असार मसान्तमा यस्तो संख्या १३ लाख १ हजार रहेको थियो ।
त्यसैगरी, २०७६ असार मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा खोलिएका व्यक्तिगत निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार पुगेको छ । २०७५ असार मसान्तमा यस्तो संख्या २ करोड ३५ लाख ४५ हजार रहेको थियो ।

व्यक्तिले बैक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाता खोलेको आधारमा पनि वित्तीय पहुँचको मापन गर्न सकिन्छ । यो विधि अवलम्बन गर्दा सबै निक्षेप खाता गणना गर्नुको साथै एक व्यक्तिको एक भन्दा बढी निक्षेप खाता भएमा सो दोहोरोपना हटाउनु आवश्यक हुन्छ ।

२०७६ जेठ मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा स्वदेशी र विदेशी गरी कुल २ करोड ७८ लाख ६७ हजार अर्थात कुल जनसंख्याको ९४.१ प्रतिशत निक्षेप खाता रहेको अध्ययनले औल्याएको छ ।

बैंकहरुमा नागरिकले खाता खोल्दा पेश गर्ने तीन पुस्ते विवरणको आधारमा एक व्यक्तिको एक भन्दा बढी निक्षेप खाता र विदेशी नागरिकको निक्षेप खाता हटाउदा करिब १ करोड ८० लाख नागरिकको व्यक्तिगत बचत खाता कायम हुन आउने अध्ययनको निष्कर्ष रहेको छ । २०७६ मा नेपालको जनसंख्या २ करोड ९६ लाख रहेको अनुमान गर्दा ६०.९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको पाइएको छ । यसले नेपालको कुल जनसंख्याको कम्तीमा ६०.९ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा पहुँच रहेको देखाएको छ ।