अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत् आयोजनाको नब्बे प्रतिशत निर्माण सकिएको छ । रोवस्ट इजर्नी प्रालि प्रवद्र्धक रहेको ४२ मेगावाट क्षमताको आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको हो ।
बाँध, विद्युत्गृह, सुरुङ र पाइपलाइन जडानलाई अन्तिम रुप दिन जुटेको आयोजनाले इलेक्ट्रोमेकानिकल उपकरण जडान शुरु गरेको छ । नब्बे प्रतिशत निर्माण सकिएको आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले जानकारी दिए । “ड्याम, टनेल र पावरहाउस फिनीसिङसँगै जेनेरेटर, टवाइनलगायत इलेक्ट्रिक उपकरण जडान भइरहेको छ”, खड्काले भने “मिस्त्रीखोलाबाट विद्युत् उत्पादनको तयारीमा छौँ ।”
छिटोमा तीन महीनाभित्र आयोजना सञ्चालन गर्ने लक्ष्य छ । गत बैशाख अन्तिम हप्ता दुई हजार २७०.५ मिटर सुरुङको ब्रेक थ्रु भएको थियो । सन् २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणको काम शुरु भएको थियो । बाँधतर्फबाट ९२६ मिटर र आउटलेटबाट एक हजार ३४४.५ मिटर सुरुङ खनेको छ ।
नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर सुरुङ निर्माण गरिएको हो । अहिले सुरुङभित्र पलास्टर गर्ने काम भइरहेको छ । नारच्याङको बेशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युत्गृह निर्माण गरेको छ ।
निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण भएको छ । पहाडभित्र १३५ मिटर सुरुङ खनेर खोलाको पानीलाई डाईभर्सन गराएर बाँध निर्माण गरिएको हो । मिस्त्रीखोलाको पानी थिग्राउने पोखरी ९क्यानल० भूमिगत हो ।
पहाडभित्र ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई वटा बालुवा थिग्राउने भूमिगत पोखरी बनाइएको छ । आउटलेटदेखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाइको पेन स्टक पाइप जडान भएको छ ।
आयोजनाले नारच्याङ बेशीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तीन वटा बेलीब्रिज निर्माण गरेको छ । पाँच अर्ब ६४ करोडको लागत अनुमान गरिएको आयोजना स्वदेशी लगानीमा निर्माण हुन लागेको हो ।
प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत् विकास कम्पनीले एक अरब र नेपाल बैंकले रु ५० करोड ऋण लगानी गरेका छन् । यसैगरी नविल बैंकले एक अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी रहेको छ ।
विद्युत् विकास विभागले २०६४ मा निर्माण अनुमति दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब–स्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि धकेलिएको हो ।
प्रतिक्रिया