सरकारले हवाई यातायातका क्षेत्रमा विश्वव्यापीरुपमा ग्रहण गरिएको प्रविधि, असल अभ्यास र नयाँ आयामलाई दृष्टिगत गरी नयाँ हवाई नीति बनाउने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रमा आएको विश्वव्यापी आयाम, दक्षिण एशियाली मुलुकमा रहेको व्यवस्था र नेपालको बदलिँदो आवश्यकता समेतलाई समष्टिगत गर्दै नयाँ हवाई नीति तर्जुमाका लागि एक कार्यदल गठन गरेको हो ।
विसं २०७६ असोज २९ गतेको मन्त्रीस्तरीय निर्णयानुसार पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा सात सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।
कार्यदलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन, नेपाल वायु सेवा निगमका पूर्वउपप्रबन्धक राजु केसी, प्राधिकरणका उपमहानिर्देशक देवानन्द उपाध्याय, वायुसेवा सञ्चालक सङ्घका सुमन पाण्डे र वरिष्ठ विमानचालक (पाइलट) क्याप्टन दधिराम निरौला सदस्य रहेका छन ।
कार्यलदको सदस्य सचिवमा पर्यटन मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महशाखा प्रमुख सहसचिव सुरेश आचार्य रहेका छन । कार्यदललाई ६० दिनभित्र हवाई नीतिको मस्यौदा तयार गरी मन्त्रालयसमक्ष पेश गर्ने समयावधि तोकिएको छ ।
कार्यदलले हवाई यातायातका क्षेत्रमा विश्वव्यापी प्रविधि, असल अभ्यास एवं सार्क मुलुकमा रहेको व्यवस्था र नेपालको बद्लिँदो आवश्यकता समेतलाई समष्टिगतरुपमा अध्ययन गरी नयाँ हवाई नीतिको मस्यौदा तयार गर्नेछ ।
नीतिको मस्यौदा पेश गर्न दुई वटा कार्यशाला गोष्ठीकोसमेत आयोजना गर्ने कार्यादेश प्राप्त उक्त कार्यदलको आज बसेको बैठकले हवाई क्षेत्रसँग आबद्ध एवं जानकारप्राप्त व्यक्ति वा संस्थाले सुझाव दिन चाहनुभएको खण्डमा सुझाव सङ्ग्रह गर्ने निर्णय गरेको छ । मन्त्रालयको हवाई उद्योग शाखामा स्वयं उपस्थित भई वा पत्राचाररफ्याक्स वा इमलेमार्फत आफ्नो सुझाव उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।
प्रतिक्रिया