विदेश जानेको संख्या बढेपनि विप्रेषण आप्रवाहमा गिरावट

0
Shares

चालु आर्थिक बर्षको दोस्रो महिना भदौमा विप्रेषण आप्रवाहमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार अघिल्लो भदैको तुलनामा विप्रेषण आप्रवाह ०.३ प्रतिशतले घटेको हो ।

यस अवधिमा विदेशमा गएका नेपालीले १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ नेपाल पठाएका छन् । गत आर्थिक वर्षको भदौसम्म रेमिट्यान्स ३३.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ०.८ प्रतिशतले वृद्धि भई १ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३४.१ प्रतिशतले बढेको थियो ।

अघिल्लो दुई वर्षमा वैदशीक रोजगारीमा जानेको संख्यामा आएको कमी र मलेसिया रोजगारी बन्द हुँदाको प्रभाव रेमिट्यान्समा असर परेको हो ।यस्तै विश्वव्यापी रुपमा आएको आर्थिक वृद्धिको संकुचन पनि रेमिट्यान्स घट्नुको कारण हुन सक्ने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भने अन्तिम श्रम स्वीकृति लिएर वैदशीक रोजगारीमा जानेको संख्या वृद्धि भएको छ ।

भदौ मसान्त सम्ममा श्रम स्वीकृति लिएर वैदेशीक रोजगारीमा जाने नेपालीको संख्यामा ०.२ प्रतिशत, पुनः श्रम स्वीकृति लिएर जानेको संख्या १०.३ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या ३९ प्रतिशत र पुनः श्रम स्वीति लिएर जानेको संख्या ९.८ प्रतिशतले घटेको थियो ।