महंगी नियन्त्रण गर्न सरकार असफल, गत बर्षको भन्दा दोब्बर

0
Shares

सरकारले महंगी नियन्त्रणमै रहिरहेको बताइरहेका बेला पछिल्ला दिनमा महंगी बढेको तथ्यांक सार्बजनिक भएको छ ।

नेपाल राष्ट्रबैंकले जारी गरेको चालु आर्थिक वर्ष २०७६/०७७ को दोस्रो महिनाको तथ्यांक अनुसार उपभोक्ता मुद्रास्फीति बढेको हो । यो अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ६.१६ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको यो अवधिमा मुद्रास्फीति ३.८६ प्रतिशत मात्र रहेको थियो । चालु आविको दुई महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव ५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलव ८९ प्रतिशत रहेको छ ।

यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत लुगा तथा जुत्ता, घरायसी उपयोगिताका वस्तु तथा सेवा र शिक्षा लगायतका क्षेत्रमा मूल्य बढेको छ ।

यो अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ७ दशमलव ९० प्रतिशत, तराईमा ५ दशमलव ६९ प्रतिशत, पहाडमा ५ दशमलव ०९ प्रतिशत र हिमालमा ५ दशमलव ०२ प्रतिशत महंगी बढेको छ ।

थोक मुद्रास्फिति ४ दशमलव ६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त मुद्रास्फीति ८ दशमलव ७० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा प्राथमिक वस्तु समूहको थोक मुद्रास्फीति उच्च रहेको छ । यो अवधिमा यातायात, उपकरण तथा पार्ट्स, रासायनिक वस्तु र खाद्य पदार्थ उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ ।