चालु आर्थिक बर्षको पहिलो त्रैमासमा मुलुकको अर्थतन्त्र सुधारन्मुख देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पहिलो त्रैमासिक तथ्याकंमा आयात घट्दो क्रममा रहेको छ भने निर्यात बढ्दै गएको पाईएको छ ।
सरकारले व्यापार घाटा बढ्दै गएपछि स्वदेशमै उत्पादन हुने वस्तु आयातमा कडाई गरेपछि विदेशबाट हुने आयात घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा विदेशबाट हुने आयात १०.३४ प्रतिशत घटेको छ । असोजसम्म ३ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँको वस्तु आयात भएको थियो । चालु आर्थिक वर्षको ३ महिनामा आयात ३८ अर्ब ६३ करोड रुपैयाँ घटेको विभागले जनाएको छ ।
आयात घट्दै गर्दा निर्यात ब्यापारमा समेत केही सुधार देखिएको छ। गत आर्थिक बर्षको पहिलो त्रैमासकोे तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्यात १४.४१ प्रतिशतले सुधार भएको छ । यस अवधिमा २७ अर्ब १६ करोड ६७ लाख रुपैयाँ बराबरको समान निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा २३ अर्ब ७४ करोड ४९ लाख रुपैयाँको निकासी भएको थियो ।
निर्यातमा भएको सुधार र आयात समेत घटेपछि सरकारको ब्यापार घाटा १२ प्रतिशतले घटेको छ। विभागका अनुसार असोजसम्म ब्यापार घाटा ३ खर्ब ७ अर्ब ७८ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापारघाटा ३ खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ थियो । आयातमा आएको गिरावटले कुल व्यापारघाटा ८.८६ प्रतिशत घटेको छ ।
विभागका अनुसार कुल ब्यापारमा निर्यातको हिस्सा ६ प्रतिशतबाट बढेर साढे सात प्रतिशत पुगेको छ भने आयातको हिस्सा ९४ प्रतिशतबाट घटेर ९२.५ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया