सहकारीमा पनि मर्जरको लहर,पोखराका दुई सहकारी संस्था गाभिए

0
Shares

पोखराका दुई सहकारी संस्था एकीकरण भएका छन् । पोखरा महानगरपालिका–२५, हेम्जास्थित गौरीशङ्कर बचत तथा ऋण सहकारी संस्था र पोखरा–१४ चाउथेस्थित चाउथे कृषि सहकारी संस्थाले आइतबार आयोजित कार्यक्रममा एकापसमा गाभिएको घोषणा गरेका हुन् ।

सरकारले बैङ्कलाई जस्तै सहकारीलाई पनि एकीकरणमा जान प्रोत्साहन गरेकाले दुवै संस्था एकीकरण भएर संयुक्त कारोवार शुरु गरिएको गौरीशङ्करका अध्यक्ष केशवशरण पौडेलले बताए। सरकारी नीति अनुसरण गरेर नै दुई सहकारीलाई एकीकरण गरिएको उनको भनाइ थियो ।

चाउथे कृषि सहकारीका अध्यक्ष खड्कबहादुर कार्कीले एकीकरणले पूँजी वृद्धि हुने र दुवै सहकारीका सदस्यलाई फाइदा पुग्ने जानकारी दिए । प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालले सहकारी संस्थाहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

कास्की बचत सङ्घका लेखा संयोजक रुद्रनाथ पौडेलले एकीकरणबाट संस्था बलियो भएको धारणा व्यक्त गरे । एकीकरणपछि संस्थाको अध्यक्षमा केशवशरण पौडेललाई चयन गरिएको थियो ।