ब्याजदर बढ्ने संकेतले शेयर कारोबार एंवम सूचकमा गिरावट

0
Shares

सूचीकृत कम्पनीहरुले गतवर्षको लाभांश घोषणा गर्ने, वितरण गर्ने तथा चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहदा समेत शेयर लगानीकर्ताको आत्मबल भने फर्किन सकेको छैन् । लगानीकर्ताको आत्मबल कमजोर हुँदा शेयर कारोबारमा उत्साह थपिन सकेको छैन भने सूचक समेत ओरालो लागेको छ ।

शेयर बजारका आधारभूत पक्ष सबल हुँदाहुँदै पनि लगानीकर्ताको आत्मबल सुधार हुन सकेको छैन । लगानीकर्ताहरु दशैं तिहार पछि बजार बढ्ने आशामा बसेपनि ठिक त्यसको विपरित नेप्से परिसूचक ओरालो लागेपछि शेयर लगानीकर्तामा झनै अन्योलता बढेको छ ।

बैंकिङ प्रणालीमा देखा परेको तरलता अभावले पनि शेयर बजार प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको पछिल्लो समय प्रकाशित गरेको विवरणमा आधार दर बढेसँगै ब्याजदर बढ्ने स्पष्ट संकेत मिलेपछि शेयर बजारमा झन निराशा छाएको हो । नयाँ ब्याजदर सार्वजनिक गरेका धेरैजसो बैंकको आधार ब्याजदर बढेको पाइएको छ । एकातिर तरलता अभाव चर्कर्ने र अर्कोतर्फ ब्याजदर बढ्ने संकेतले शेयर लगानीकर्ताको आत्मबल झन कमजरो भएको देखिन्छ ।

आइतबार नेप्से सूचक ६.८८ अंकले घटेर ११३९.२९ विन्दुमा झरेकोे छ । १६१ कम्पनीको ७ लाख ८४ हजार ७४० कित्ता सेयर खरिदबिक्री भएको बजारमा १७ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । शेयर बजार ओरालो लाग्दा समग्र बजार पूँजीकरण १४ खर्ब ७७ अर्बमा खुम्चिएको छ । 

कारोबार भएका ११ वटा समूहमध्ये म्युचुअल फन्ड समूहको सूचक मात्र सकारात्मक रहेको छ । बाँकी सबै समूहका सूचक राताम्मे भएका छन्। सबैभन्दा बढी उत्पादनमूलक समूह ३७.३५ अंकले घटेको छ । वाणिज्य बैंक समूहमा पनि ६.७८ अंकको गिरावट आएको छ ।

सबैभन्दा धेरै प्रभु बैंकको १ करोड ५२ लाख रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ । यसदिन एनआईसी एशिया ग्रोथ फण्डको इकाई मूल्य सबैभन्दा धेरै ४.५२ प्रतिशतले बढेको छ । यस्तै वरुण हाइड्रो, चिलिमे, पाँचथर पावर तथा रैराङ हाइड्रो लगायतको शेयर मूल्य बढेको छ ।