चिलिमेले घोषणा गर्यो नाफा भन्दा धेरै लाभांश, मंसिर ११ गते साधारण सभा

0
Shares

चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट अघिल्लो वर्षजति नै लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक १८ गते बसेको सञ्चालक समिति बैंठकले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । चार अर्ब ७५ करोड ८१ लाख ३५ हजार चुक्ता पूँजी रहेको चिलिमेले ९५ करोड १६ लाख २७ हजार १५६ रुपैयाँ बराबरको बोनस तथा २३ करोड ७९ लाख ६ हजार ७८९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

चिलिमेले गत आर्थिक बर्षमा ७१ करोड खुद नाफा कमाएको थियो भने चार अर्ब ५५ करोड शेयरधनी कोषमा जम्मा गरेको थियो ।

सरकारलाई बुझाउनुपर्ने रोयल्टी एकैपटक ह्वात्तै वृद्धि भएपछि गत आर्थिक बर्षमा चिलिमेको नाफा प्रभावित भएको हो । चिलिमले १२ करोड ५१ लाख ५० हजार रुपैयाँ सरकारलाई रोयल्टी बुझाएको थियो । गत आर्थिक बर्षमा चिलिमेले १९ करोड ६२ लाख ७० हजार रुपैयाँ कर बापत खर्च गरेको थियो ।

प्रस्तावित लाभांश हाइड्रोको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ । बोनसपछि कम्पनीको चुक्ता पूँजी ९५ करोड १६ लाख थपिनेछ ।

अघिल्लो वर्ष पनि कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।

साथै कम्पनीले प्रस्तावित लाभांश पारित गराउन आगामी मंसिर ११ गते २३ औं साधारण सभा राख्ने भएको छ । साधारण सभा प्रयोजनका लागि कार्तिक २७ गतेदेखि शेयर धनी दर्ता किताब बन्द गर्ने जनाएको छ ।