एनएमबि बैंकको शेयर घटाएर किन्नेहरुको चाप, कारोबार उच्च,मूल्य घट्यो

0
Shares

ओम डेभलपमेन्ट बैंकसँग मर्जर गरेपश्चात शेयर कारोबार खुलेको एनएमबि बैंकको शेयर मूल्य घटाएर खरिद गर्नेहरुको चाप देखिएको छ। मूल्य घटाएर खरिद गर्नेहरु अधिक हुँदा बैंकको शेयर मूल्य घटेको छ भने एक घण्टाको अवधिमा सबैभन्दा उच्च कारोबार भएको छ।

विहीबार कारोबार खुलेको एक घण्टाको अवधिमा एनएमबि बैंकको मात्रै ५ करोड ६० लाख बराबरको शेयर किनबेच भएको छ। जबकि यस अवधिमा ९६ कम्पनीको कारोबार हुँदा ७ करोड २४ लाख बराबरको मात्र शेयर किनबेच भएको छ ।

मार्केट डेप्थमा एनएमबिको शेयर बिक्री गर्नेहरु भन्दा खरिद गर्नेको चाप अधिक देखिएको छ । तर शेयर खरिद गर्न चाहानेहरुले मूल्य घटाएर खरिद माग राखेका छन् । मार्केट डेप्थमा ८८ हजार बढी कित्ता शेयर खरिदको माग रहदा बिक्रीमा ३७ हजार कित्ता मात्र देखिएको छ ।

मूल्य घटाएर शेयर खरिद गर्नेहरु सक्रिय हुँदा कम्पनीको शेयर मूल्य समेत घटेको छ । एक घण्टाको कारोबार अवधिमा बैंकको शेयर मूल्य २.३७ प्रतिशतले झरेको छ । मर्जरपश्चात बैंकको पहिलो शेयर कारोबारको लागी नेपाल स्टक एक्सचेञ्जले ३५१ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेकामा बैंकको शेयरमूल्य ३४३ रुपैयाँमा झरेको छ ।

चौध महिना भन्दा लामो समयसम्म शेयर कारोबार गर्न नपाएका ओम र झण्डै पाँच महिना कारोबार बन्द रहेको एनएमबिको कारोबार खुलेपछि बिक्री चाप बढेको हो । एनएमबि भन्दा पनि ओमबाट एनएमबिमा परिणत भएको शेयर बिक्री गर्नेहरुको चाप अधिक रहेको अनुमान गर्न सकिन्छ । मर्जर अघिको बजार मूल्यको आधारमा ओमका लगानीकर्ताहरु नाफामा रहेकाले उनीहरु नाफा बुक गर्नतर्फ लागेको देखिन्छ ।

एक घण्टाको अवधिमा नेप्से सूचक भने २.५४ अंकले घटेर ११३५.४८ विन्दुमा झरेको छ । कारोबार आएका अधिकांस समूहका सूचक नकारात्मक देखिएका छन् । यसअवधिसम्म ९६ कम्पनीको ७ करोड २४ लाख बराबरको शेयर किनबेच भएको छ ।