कालीगण्डकी करिडोरको स्तरोन्नतिमा सेनाको सक्रियता

0
Shares

सदरमुकाम बागलुङसँग जोडिएको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म कालीगण्डकी करिडोरको स्तरोन्नतिको जिम्मेवारी पाएको नेपाली सेनाले कामलाई तिव्रता दिएको छ । करिडोरको ठाउँठाउँमा खसेका पहिरोको सफाइ र १० मिटर चौडाइ नपुगेको क्षेत्रमा बम विष्फोटको कामलाई नेपाली सेनाले तीव्र बनाएको हो ।

गत ज्येष्ठ मसान्तसम्म सडक विभागलाई हस्तान्तरण गर्ने गरी जिम्मेवारी पाएको सेनाले विविध अवरोधका कारण हालसम्म पनि हस्तान्तरण गर्न सकेको छैन । झण्डै १० किलोमिटर दूरीमा रहेको बलेवा विमानस्थलसम्मको सडक समयमा हस्तान्तरण गर्न नसकेको सेनाले नै थप १५ किलोमिटर सडकको स्तरोन्नतिको जिम्मेवारी पाएको छ ।

मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको सडक स्तरोन्नतिका क्रममा मानवअधिकार र वर्षात्को समयलगायतका समस्या झेलेको सेनाले थप सडक स्तरोन्नतिको जिम्मेवारी पाएको हो ।

बलेवा विमानस्थलसम्मको १० किलोमिटरको काम अन्तिम चरणमा पुगेको छ । “हामीले १० किलोमिटर सडक बनाउने गरी जिम्मेवारी लिएका हौँ”, निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईले भने, “उक्त खण्डको अधिकांश काम सकिएको छ ।” केही ठाउँमा पहिरो पन्छाउने र केही ठाउँमा पानी तर्काउनेबाहेक सबै काम सकिएको भट्टराइले दाबी गरे । बागलुङ–बलेवा १० किलोमिटर सडक निर्माणकै चरणमा रहेको सेनाले थप १५ किलोमिटर सडक स्तोन्नतिको जिम्मा पाएको थियो ।

“गुल्मी र बागलुङमा गरेर हामीले २५ किलोमिटर सडक स्तरोन्नतिको जिम्मेवारी पाएको हो”, भट्टराईले भने, “बागलुङ खण्डको अधिकांश स्थानमा काम सकिएको छ ।” निर्माण कार्यदलमा खटिएका सेनाका अधिकृतका अनुसार सेनाले पछिल्लोपटक पाएको जिम्मेवारीअनुसार आठ किलोमिटर सडकको स्तरोन्नतिको काम सकिएको छ भने बाँकी सात किलोमिटर सडकमा बम विष्फोट गर्नुपर्नेछ ।

पछिल्लो योजनाअनुसार बागलुङ र गुल्मीमा स्तरोन्नतिका लागि सेनाले २५ करोड बजेट पाएको छ । जम्मा २५ किलोमिटर सडक स्तरोन्नति गर्ने गरी पाएको बजेटअनुसार नै काम भइरहेको प्रमुख सेनानी भट्टराईले बताए ।