विहीबारको बजारमा विकास बैंक समूहको सूचक गायब, यस्तो छ कारण

0
Shares

विहीबारको शेयर बजारमा विकास बैंक समूहको उपसूचक नै गायब भएको छ । नेप्सेमा कारोबार हुने १२ उपसमूहमध्ये विहीबारको बजारमा एघार समूहको मात्र उपसूचक देखिएको छ ।

विकास बैंकहरुको कारोबार भएपनि उपसूचक गणनामा भने विकास बैंक समूह हटेको छ । बेलाबेलामा नेप्सेको वेभसाइटमा समस्या आउँदा अतालिने गरेका लगानीकर्तालाई यसले झनै आशंकित बनाएको छ ।

तर नेप्सेले भने दिनभर कारोबार भईरहदा उपसूचक समूहमा विकास बैंक समूहको सूचक देखापरिरहेको जनाउँदै ओम डेभलपेमन्ट बैंक एनएमबिमा गाभिएको अवस्थामा यसअघि विकास बैंक सूमहमा रहेको ओमलाई हटाएर सूचक ‘एडजस्ट’ गर्नेक्रममा केहिबेर यो सूचक वेभसाइटमा नदेखिएको बताएको छ । ओमको शेयर ‘एडजस्ट’ भएपश्चात विकास बैंक उपसूचक वेभसाइटमा देखापर्ने नेप्सेका एक अधिकारीले जानकारी दिए ।

विहीबारको बजारमा नेप्से सूचक ६.०५ अंकले ओरालो लागेर ११३१.९७ अंकमा झरेको छ । यसदिन १६३ कम्पनीको १२ लाख ९६ हजार कित्ता शेयर ३७ करोड ४१ लाख रुपैयाँ बराबरमा किनबेच भयो । कारोबारमा आएका ११ समूहमध्ये व्यापार, र्निजीवन बीमा र म्युचुअल फण्डको सूचक सकारात्मक रहदा अन्य सबै समूह ओरालो लागेको छ ।