लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतका दुबै फण्डको एनएभी घट्यो

0
Shares

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी भ्यालु फण्डको प्रति इकाई खुद सम्पत्ती मूल्य अर्थात एनएभी असोज महिनामा घटेको छ । लक्ष्मी इक्विटी फण्डको एनएभी भदौ महिनाको तुलनामा असोजमा ६ पैसा र लक्ष्मी भ्यालु फण्ड १ को २ पैसा घटेको छ ।

म्युचुअल फण्डहरुको आम्दानीको मूख्य श्रोत नै शेयरबजारमा गरिएको लगानी हो । लामो समयदेखि शेयरबजारले सकारात्मक दिशा लिन नसकेका कारण म्युचुअल फण्डहरुको एनएभी घटेको छ ।

लक्ष्मी भ्यालु फण्ड १

लक्ष्मी भ्यालु फण्ड १ को एनएभी भदौ महिनाको तुलनामा असोज महिनामा २ पैसा घटेर ९ रुपैयाँ ५४ पैसा कायम भएको छ । भदौ मसान्तमा फण्डको एनएभी ९ रुपैयाँ ५६ पैसा रहेको थियो । समीक्षा अवधिमा फण्डको खुद सम्पत्ति ८ लाख ३६ हजार रुपैयाँ घटेर ४७ करोड ७० लाखमा सिमित भएको छ ।

फण्डले असोज मसान्तसम्ममा २७ कम्पनीको कुल २२ करोड ७६ लाख ४६ हजार रुपैयाँ बराबरको लगानी गरेको छ । फण्डले नबिल बैंकमा सर्वाधिक ३ करोड ४३ लाख र नेपाल लाइफ इन्स्योरेन्समा २ करोड १४ लाख लगानी गरेको छ । त्यसैगरी, फण्डले सो अवधिसम्ममा २ लाख ३ हजार १८७ रुपैयाँ सार्वजनिक निष्कासनमा लगानी गरेको छ ।

५० करोडको आकार भएको यस फण्डले ५ करोड रुपैयाँ बैंक मुद्दती निक्षेपमा राखेको छ । फण्डको बैंक मौज्दात २० करोड १९ लाख १९ हजार रहेको छ भने २ लाख ४३ हजार बराबरको अन्य सम्पत्ति रहेको छ ।

लक्ष्मी इक्विटी फण्ड

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतकै अर्को योजना लक्ष्मी इक्विटी फण्डको एनएभी भदौ महिनाको तुलनामा असोज महिनामा ६ पैसा घटेर ८ रुपैयाँ ३५ पैसा कायम भएको छ । फण्डको एनएभी भदौ मसान्तमा ८ रुपैयाँ ४१ पैसा रहेको थियो । समीक्षा अवधिमा फण्डको खुद सम्पत्ति ७७ लाख १७ हजार रुपैयाँ घटेर १ अर्ब ४ करोड ४१ लाखमा सिमित भएको छ ।

फण्डले असोज मसान्तसम्ममा ७६ कम्पनीको कुल ८१ करोड १२ लाख ८८ हजार रुपैयाँ बराबरको लगानी गरेको छ । फण्डले नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक तथा सर्वसाधारण शेयर, सिद्धार्थ बैंक, एनआईसी एशिया बैंक र नेपाल लाइफ इन्स्योरन्सको सर्वसाधारण शेयरमा ३ करोडभन्दा बढी लगानी गरेको छ ।

त्यसैगरी, फण्डले सो अवधिसम्ममा १४ लाख ५४ हजार रुपैयाँ सार्वजनिक निष्कासनमा र २ करोड रुपैयाँ ऋणपत्र अथवा बन्डमा लगानी गरेको छ ।

१ अर्ब २५ करोडको आकार भएको यस फण्डले ६ करोड ५० लाख रुपैयाँ बैंक मुद्दती निक्षेपमा राखेको छ । फण्डको बैंक मौज्दात १५ करोड १९ लाख ५० हजार रहेको छ भने ३७ हजार बराबरको अन्य सम्पत्ति रहेको छ । यसका साथै फण्डको ३० लाख ७९ हजार रुपैयाँ प्राप्त हुन बाँकी छ ।