बाङ्ग्लादेशका राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा नयाँ सम्झौता नहुने, पुरानैमा छलफल

0
Shares

बाङ्ग्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मङ्गलवारदेखि सुरु हुने नेपाल भ्रमणमा दुई देशबीच नयाँ सहमति वा सम्झौता हुने छैन।

सद्भावना भ्रमण भनिएको भ्रमणका क्रममा विगतमा भएका सम्झौताहरूको कार्यान्वयनका जटिलताका बारेमा भने छलफल हुने नेपाली अधिकारीले बताएका छन्।

बाङ्ग्लादेशका लागि नेपाली राजदूत वंशिधर मिश्र भन्छन : ‘अहिले भएका सम्झौताहरूमा अनौपचारिक छलफल हुनेछ। त्यसले एउटा सहजता ग्रहण गर्नेछ तर औपचारिक नयाँ सहमति वा सम्झौता चाहिँ हुँदैन।’  अहिले भएका सम्झौताहरू, प्राविधिक र सचिवस्तरीय भएका वार्ता र भिसालाई सहज बनाउने कुरा छन्।

दक्षिण एशियाका निकट छिमेकी देश भए पनि नेपाल र बाङ्ग्लादेशबीच सम्पर्क सञ्जाल अझै पनि सीमित छ। यसप्रति दुवै देश सचेत हुँदै गएको देखिएको बेला भएको यो उच्चस्तरीय भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ।

व्यापारिक कारोबारमा वृद्धि

बाङ्ग्लादेशले आर्थिक विकास गरिरहँदा दुई देशबीच व्यापारिक कारोबारमा केही वर्षयता वृद्धि हुँदै आएको छ। नेपाल र बङ्ग्लादेश बीच हुने गरेको व्यापारमा नेपाललाई घाटा भने धेरै छ।

नेपालबाट बाङ्ग्लादेश निकासी हुने वस्तुमा मुसुरोको दाल, चिराइतो, डाबर नेपालका उत्पादन र रिठ्ठो पर्छन्। नेपालबाट निर्यात हुने वस्तुमा बाङ्ग्लादेशले ११० प्रतिशतसम्म भन्सार महसुल लिने गरेको बताइन्छ। यो दर घटाउन व्यवसायीहरूले माग गर्दै आएका छन्।

मिश्र भन्छन्स् ‘नेपाली घागो त्यहाँ निर्यात हुन्छ। त्यसमा भएका अवरोधहरू फुकाउने कुरा भएको छ।’ पछिल्ला दिनमा नेपालको विद्युत निर्यात गर्न सकिने देशका रूपमा पनि बाङ्ग्लादेशलाई हेरिएको छ।

जलविद्युतमा चासो

जलविद्युत उत्पादनमा लगानी र विद्युत खरिद दुवैमा बाङ्ग्लादेशको चासो रहेको बताउने गरिएको छ।

नेपाल र बाङ्ग्लादेशबीच विद्युत व्यापारका लागी समझदारी समेत भैसकेको छ। तर विद्युत व्यापारका लागि भारतको साथ लिनुपर्ने अवस्था रहेको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे भन्छन्स् ‘नेपालबाट बा्ङ्ग्लादेशसम्म बिजुली लान भारतसँग बसेर त्रिपक्षीय छलफल गर्ने सहमती भएको छ। भारत सकारात्मक छ त्यसैले बिजुली बेच्न समस्या छैन। बाङ्ग्लादेशले सन् २०४० सम्म नौ हजार मेगावाट नेपालबाट किन्ने भनेको हो। हाम्रा योजना अनुसार पनि त्यो बेच्न सम्भव छ।’

पर्यटकीय स्थलको भ्रमण

शुक्रवार फर्कने राष्ट्रपति हमिदले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी ओलीलगायत विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने बताइएको छ।

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै जाँदा उनले नेपालका विभिन्न पर्यटकीय स्थलको समेत भ्रमण गर्ने तालिका रहेको राजदूत मिश्रले बताए।

मिश्र भन्छन्स् ‘उहाँ पोखरा, भक्तपुर र काठमाण्डूको पर्यटकीय क्षेत्र जानुहुनेछ। चन्द्रागिरि पनि जानुहुन्छ।’