प्रभु बैंकले गत कात्तिक २१ गते विहीबारदेखि बिक्री खुला गरेको एक अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले निष्कासन गरेको ऋणपत्र बिक्री हुने भएपछि छोटो अवधिभित्रै बिक्री बन्द गर्न लागेको हो ।
बैंकले एक हजार रुपैयाँ अंकित दरका १० लाख इकाई ऋणपत्र जारी गरेको छ । दश लाख इकाईमध्ये ४ लाख इकाई सर्वसाधारणमा लागि तथा ६ लाख इकाई बैंकले व्यक्तिगत तवरबाट संघ संस्थालाई बिक्री गर्नेछ ।
बैंकले जारी गर्ने १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन् ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
उक्त ऋणपत्रमा छिटोमा कात्तिक २५ गतेसम्म आवेदन गर्न पाइने व्यवस्था थियो । कार्तिक २७ गतेसम्म आईपुग्दा ऋणपत्र बिक्री हुने पक्कापक्की भएपछि आवेदन बन्द गर्न लागिएको बिक्री प्रबन्धकले जनाएको छ ।
उक्त ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ । न्यूनतम २५ इकाईदेखि अधिकतम ४ लाख इकाईसम्म आवेदन दिन पाइने बिक्री प्रबन्धकले जनाएको छ।
ऋणपत्र निष्कसनबाट प्राप्त हुने रकममध्ये ८० प्रतिशत कर्जा लागनी र २० प्रतिशत तरलता तथा व्यवसाय विस्तारका लागि उपयोग गरिने बैंकले बताएको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने एलबीबीबी रेटिङ दिएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरे पश्चात पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका छन् ।
प्रतिक्रिया