कस्ट अफ फण्ड वढ्दा पनि गरिमा विकास बैंककोे नाफा २१ प्रतिशतले वृद्धि

0
Shares

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरिमा विकास बैंकको कोषको लागत वढेको भएपनि नाफा वृद्धिमा भने असर पुगेको छैन ।

बैंकले चालु आवको असोजसम्ममा १८ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा २१.४२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको असोजसम्ममा बैंकले १५ करोड ५४ लाख रुपैयाँ नाफा गरेको थियो ।

तीन महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा ६ करोड ३ लाख रुपैयाँ छ ।

चालु आवको असोजसम्ममा बैंकमा ३५ अर्ब ९४ करोड रुपैयाँ ग्राहकको निक्षेप रहेको छ भने ३० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । यो अवधीमा बैंकको खर्च करिब ५ करोड ७६ लाख रुपैयाँले बढेको भएपनि सञ्चालन आम्दानी पनि सोही अनुपातमा वढेको छ । सो अवधीमा बैंकको खुद ब्याज आम्दानी ६ करोड २१ लाख रुपैयाँले वढेको छ ।  त्यसैगरी बैंकको फि तथा कमिसन आम्दानी पनि एक करोडले वढेको छ।

हाल २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको सञ्चित कोषमा ६३ करोड २० लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा बैंकको सञ्चित कोषमा ५१ करोड ७३ लाख रुपैयाँ मात्र थियो ।

चालु आर्थिक वर्षको असोजसम्ममा बैंकको आधार ब्याजदर घटेर ११.२० प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको असोजसम्ममा बैंकको आधार ब्याजदर ११.८८ प्रतिशत थियो । यो असोजसम्ममा बैंकको कोषको लागत भने वढेर ८.४८ प्रतिशत कायम भएको छ । यस्तो लागत गत आवको सोही अवधीमा ८.२२ प्रतिशत थियो ।

तर, बैंकको चालु आवको पहिलो त्रैमासमा खराव कर्जाको अंश भने घटेको छ । यस अवधिमा बैंकको खराव कर्जा ०.३६ प्रतिशत छ । गत आवको असोजसम्ममा बैंकको खराब कर्जा ०.८४ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङक अनुसार बैंकको प्रतिसेयर आम्दनी २५.१२ रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा बैंकको प्रतिसेयर आम्दानी २२.०५ रुपैयाँ थियो । सो अवधीमा बैंकको मूल्य आम्दानी अनुपात ८.६० गुणा रहेको छ ।