आईपीओ बिक्रीपछि सबैको लघुवित्तको व्यवसायसँगै नाफामा बढोत्तरी

0
Shares

सबैको लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९७ लाख ६८ हजार खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३४.८० प्रतिशत बढी हो।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि भएसंगै नाफा बढ्न पुगेको हो।

असोज मसान्तसम्ममा १ अर्ब ३५ करोड ४९ लाख सापटी र ४९ करोड ४९ लाख निक्षेप सङ्कलन गरी १ अर्ब ७२ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको लघुवित्तले यस अवधिमा ३ करोड २३ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

१८ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ करोड ८९ लाख रुपैयाँ जम्मा गरेको छ। कारोबार बढाएसँगै लघुवित्तको खराब कर्जा पनि बढेर ०.६८ प्रतिशत पुगेको छ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ९६ पैसा, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ १४ पैसा तथा मूल्य आम्दानी अनुपात २१.५७ गुणा छ। लघुवित्तले गत साउनमा मात्र आईपीओ बिक्री गरेको थियो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । पूँजी बढाउनका लागि त्यसपछि शतप्रतिशत हकप्रद बेच्ने योजनामा कम्पनी छ ।