मेगामा विलय हुन लागेको गण्डकी विकास बैंकको नाफा १५ प्रतिशतले घट्यो

0
Shares

मेगा बैंकमा विलय प्रक्रियामा रहेको गण्डकी विकास बैंकको नाफा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १५.३९ प्रतिशतले घटेको छ ।

बैंकले चालु आवको असोजसम्ममा ८ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा १५.३९ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको असोजसम्ममा बैंकले १० करोड २७ लाख रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको असोजसम्ममा बैंकमा २८ अर्ब १ करोड रुपैयाँ ग्राहकको निक्षेप रहेको छ भने २५ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । यो अवधिमा बैंकको सञ्चालन खर्चमा उच्च वृद्धि भएपछि नाफा घटेको हो । सो अवधिमा बैंकले खुद आम्दानी करिब १० करोड रुपैयाँले वढेको छ ।

हाल २ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको सञ्चित कोषमा ८६ करोड १४ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा बैंकको सञ्चित कोषमा एक अर्ब ४६ करोड २१ लाख रुपैयाँ मात्र थियो ।

चालु आर्थिक वर्षको असोजसम्ममा बैंकको आधार ब्याजदर घटेर ११.२७ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको असोजसम्ममा बैंकको आधार ब्याजदर १२.४० प्रतिशत थियो । यो असोजसम्ममा बैंकको कोषको लागत भने घटेर ८.६० प्रतिशत कायम भएको छ । यस्तो लागत गत आवको सोही अवधीमा ८.८७ प्रतिशत थियो ।

तर, बैंकको चालु आवको पहिलो त्रैमासमा खराव कर्जा समेत बढेको छ । यस अवधिमा बैंकको खराव कर्जा १.१० प्रतिशत छ । गत आवको असोजसम्ममा बैंकको खराब कर्जा ०.४६ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङक अनुसार बैंकको प्रतिसेयर आम्दनी १२.६५(बार्षिक) रुपैयाँ रहेको छ । सो अवधीमा बैंकको मूल्य आम्दानी अनुपात १५.८९ गुणा रहेको छ ।