युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा,२०७४ सालबाट सम्पर्क विहीन

0
Shares

काठमाडौं महानगरपालिकाको २९ वडामा सञ्चालनमा रहेको युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त सहकारीका रुपमा घोषणा गरिएको छ। कामपाको आज बसेको ३८औं कार्यपालिका बैठकले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो।

बैठकले महानगरको वडा २९ मा २०६४ सालमा दर्ता भएर सञ्चालनमा आएको सहकारीका सञ्चालक २०७४ सालबाट सम्पर्क विहीन भएको पनि जनाएको छ।

महानगरको प्रशासन विभागका प्रमुख नमराज ढकालका अनुसार १५१ जना सञ्चालक रहेको सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिएका थिए। “यसअघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रिपरिषद्मा जानुपथ्र्यो”, उनले भने, “अहिले यो अधिकार नगर कार्यपालिकामा आएको छ। यही व्यवस्थाअनुसार निर्णय भएको हो ।” कामपामा हाल एक हजार ८४८ सहकारी छन्।

बैठकले कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा ‘२५औं महानगर दिवस मूल समारोह समिति’ गठन गरेको छ । बैठकले वडा ३१ मा निर्माण सम्पन्न भएको पञ्चकुमारी सामाजिक गुठीको नक्सा स्वीकृत दस्तुर फिर्ता गर्ने निर्णय गरेको छ ।

काठमाडौं लगायत देशका विभिन्न स्थानमा आयोजना हुने १३औं साफ खेलकुदका सम्बन्धमा छलफल गर्दै बैठकले वडा ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा राजस्व, वातावरण, सूचना तथा सञ्चारसहित सम्बद्ध विभागका अधिकारीसहितको सात सदस्यीय समिति गठन गरेको छ ।

त्यस्तै महानगरलाई आश्रित मानिसमुक्त सहर बनाउने अभियानलाई प्रभावकारी बनाएर सञ्चालन गर्ने, मानव सेवा आश्रमसँगको सहकार्य थप २ वर्षका लागि नवीकरण गर्नेलगायत निर्णय गरेको छ ।

प्रकाशित मिति: ३ मंसिर २०७६, मंगलबार  २० : २५ बजे