यूएईलाई नेपालमा लगानी गर्न उपप्रधानमन्त्री पोखरेलको आग्रह

0
Shares

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानूनी रुपमै लगानी सुरक्षाको प्रत्याभूति गरिएको भन्दै नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट् (युएई) का लगानीकर्तालाई आग्रह गरेका छन । युएईको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री पोखरेलसँग दुबई उद्योग वाणिज्य सङ्घका अध्यक्षले बुधबार भेट गर्दा उनले नेपाल सरकारले निजी सम्पत्तिको राष्ट्रियकरण नगरिने, स्वदेशी तथा विदेशी लगानीबीच कुनै विदेभ नगरिने व्यवस्था गरेको बताएका हुन ।

ठूला परियोजनामा लगानीसम्बन्धी सहजीकरण गर्न सरकारीस्तरमा प्रधानमन्त्रीको नेतृत्वमा लगानी बोर्डको व्यवस्था, करका दरमा सुधार, विशेष आर्थिक क्षेत्र र वस्तु तथा सेवा निर्यातमा कर छुटको व्यवस्था र विदेशी लगानीबाट प्राप्त नाफा र बिक्रीबाट प्राप्त रकम विदेशी मुद्रामा फिर्ता लैजाने सुविधा मिलाइएको भन्दै उनले ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन । उनले कृषि, पर्यटन, जलस्रोत, भौतिक पूर्वाधारलगायत क्षेत्रमा लगानी गरेर उच्च प्रतिफल लिन सकिने पनि बताए ।

दुई ठूला मुलुकको बीचमा रहेकाले बजारको कुनै पनि समस्या नरहेको र मध्यपूर्वका मुलुकमासमेत नेपाली उत्पादन भएका सामग्रीको बजार राम्रो रहेको उनको भनाइ थियो । युएई नेपालको तेस्रो ठूलो व्यापारिक साझेदार मुलुक भएको अवगत गराउँदै उपप्रधानमन्त्री पोखरेलले कृषिजन्य उत्पादन, पस्मिना, गहनालगायत सामानको निर्यात वृद्धि गरी नेपालको व्यापार घाटा न्यूनीकरणका लागि पहल गर्न आग्रह गरेको उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।