नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुला

0
Shares

नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको कार्यकारी अध्यक्षको नियुक्तीका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डले शुक्रबार सूचना प्रकाशीत गरी अध्यक्षका लागि दरखास्त आह्वान गरेको हो।

नेपाल सरकार अर्थमन्त्रालयले कात्तिक १९ गते बोर्डको अध्यक्ष नियुक्तीका लागि सिफारीस समिति गठन गरेको थियो । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन् ।

बोर्ड अध्यक्ष नियुक्तीका लागि पहिलो पटक सिफारीस सम्बन्धी कार्यविधि नै बनाइ लागु गरेर दरखास्त आह्वान गरेको हो । कार्यविधि अनुसार बोर्डको अध्यक्ष हुनका लागि कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार, व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिामा ७ वर्ष काम गरेको हुनुपर्ने प्रावधान छ ।

अध्यक्षको उम्मेद्वार हुन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ । त्यस्तै, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरणलगायत अन्य फौजदारी कसूरमा सजाय नपाएको हुनुपर्ने व्यवस्था छ । इच्छुक योग्य उम्मेदवारले बोर्ड अध्यक्षका लागि आगामी १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदकले अर्थमन्त्रालयमा रहेको सिफारीस समितिको सचिवालयमा आवेदन दिन पर्नेछ ।

आवेदनकले आवेदन दिएपछि समितिले योग्य उम्मेदवारवाट छनोट गरी सिफारीस गर्नेछ । सिफारीस भएका मध्येवाट एकलाइ सरकारले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । गत असोजको दोस्रो सातादेखि रिक्त रहेको धितोपत्र बोर्डको कार्यकारी अध्यक्षको पद अझै केही महिना नियुक्त नहुने देखिन्छ । धितोपत्र बोर्डको अध्यक्ष नहुदै बोर्डको दैनिक काम बाहेकका बजार सुधारका निर्णय काम हुन सकेका छैनन ।