प्रभु बैंकमा सर्वसाधारणको शेयर स्वामित्व बढ्ने,५ मुलुकमा सम्पर्क कार्यालय खोल्ने

0
Shares

प्रभु बैंकमा सर्व साधारण शेयरधनीहरुको स्वामित्व बढ्ने भएको छ । बैंकको १८औं वार्षिक साधारण सभाले हाल कायम रहेको शेयर स्वामित्वमा संशोधन/परिवर्तन गरी संस्थापक समुहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय गरेको छ ।

साधारण सभाले बैंकको जारी तथा चुक्ता पूँजीको संरचना संशोधन/परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत गरेको छ । हाल बैंकमा संस्थापक समूहतर्पm ५५ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

त्यस्तै साधारण सभाले गत आ.व. २०७५/७६ को मुनाफाबाट गत आ.व. २०७५/०७६ मा कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ । १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरे पश्चात् बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ०२ हजार ७ सय रुपैयाँ पुगेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष देवी प्रकाश भट्टचनको अध्यक्षतामा बसेको बैंकको १८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । साथै, १८औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७५/०७६ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।

त्यस्तै, बैंकको सञ्चालक समितिमा शेयर स्वामित्वको आधारमा संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जनाको प्रतिनिधित्व हुने गरी प्रस्ताव पारित गर्नुका साथै धितोपत्र सम्बन्धी कारोबार गर्ने सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गर्नको लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत पारित गरेको छ ।

त्यसैगरी अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याँकन गर्न मान्यताप्राप्त मुल्याँकनकर्ता नियुक्ती गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडी बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय समेत पारित गरेको छ ।

देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ३७ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १५२ वटा एटिएम मेशिन तथा १९६ वटा शाखा कार्यालयहरु मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरी सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्ने प्रयोजनका लागि आवश्यक कार्य अगाडि बढाईरहेको बैंकले जनाएको छ ।