विमानस्थल स्तरोन्नतिमा बजेटको कमी हुँदैन ः मन्त्री भट्टराई


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थलको विकास तथा स्तरोन्नतिका लागि बजेटको कुनै कमी नहुने बताएका छन । आज नेपालगञ्ज विमानस्थल विकासका लागि आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री भट्टराईले अन्तरराष्ट्रि«य विमानस्थल निर्माणको गुरुयोजना बनाएर अघि बढेमा पर्यटन वर्षमा धेरै पर्यटक भित्र्याउन सकिने बताए ।
मन्त्री भट्टराईले नेपालगञ्ज–दिल्ली उडान प्राथमिकतामा रहे पनि भारतका तर्फबाट प्राविधिक काम नटुङ्गिएका कारण तत्काल सम्भव हुन नभए पनि त्यसको प्रयास भने भइरहेको उल्लेख गरे ।
सो अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले नेपालगञ्ज विमानस्थलको गुरुयोजना तयार गरिएको बताए । उनले भने, “पहिलो चरण र दोस्रो चरणका काम अहिले धमाधम भइरहेका छन् । रनवे विस्तार, टर्मिनल भवनलगायतका काम गर्न जग्गा अधिग्रहणको काम चाँडै शुरु हुनेछ ।”
दैनिक ४० सरदर उडान हुँदै आएको नेपालगञ्ज विमानस्थलमा झण्डै एक हजार १०० यात्रुलाई दैनिक सुविधा पुगेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त नेपालगञ्ज विमानस्थलका लागि नयाँ गुरुयोजना अनुसार अगाडि बढ्दा १०० बिघा जग्गा थप आवश्यक पर्ने सो अवसरमा जानकारी दिइयो । हाल १६६ बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने जनाइएको छ ।