नेशनल माइक्रो पूँजी बढाउन आक्रमक, ७५ प्रतिशत बोनसपछि ५० % हकप्रद

0
Shares

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पूँजी वृद्धिमा जोड गरेको छ । गत आर्थिक बर्षको मुनाफाबाट ७५ प्रतिशत बोनस घोषणा गरेको लघुवित्तले ५० प्रतिशत हकप्रद बिक्रीको प्रस्ताव राखेर साधारण सभा आह्वान गरेको छ ।

संस्थाले लाभांश तथा हकप्रदको प्रस्ताव पारित गर्न मंसिर २९ गते आइतबार क्रिक रिसोर्ट, धादिङ्गबेशी, धादिङ्गमा बिहान ११ बजे छैठौँ वार्षिक साधारण सभा बोलाएको छ।  उक्त साधारण सभाले ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद सहित ८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत साधारण सभामा लगिदैछ । यस्तै अन्य वित्तीय संस्थासंग मर्जर अथवा एक्वायर गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, नाम परिवर्तन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले मंसिर १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ। मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन पाउनेछन्।

हाल लघुवित्तको १५ करोड ८ लाख ८३ हजार रुपैयाँ चुक्ता पूँजी छ । ७५ प्रतिशत बोनसपछि २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ। त्यसपश्चात ५० प्रतिशत हकप्रद बिक्री गरेर कम्पनीले चुक्ता पूँजी ४० करोड पुर्याउनेछ ।

नेशनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा माइक्रोफाइनान्सको खुद नाफा ५८.६७ प्रतिशतले बढेको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ६२ रुपैयाँ ४३ पैसा छ।