चोरी नियन्त्रण अभियानपछि विद्युत प्राधिकरणको राजश्व सङ्कलन बढ्यो

0
Shares

नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले चोरी नियन्त्रण अभियान सञ्चालन गरेपछि तीन दिनका अवधिमा २६ लाखभन्दा बढी राजश्व सङकलन गरेको छ ।

तीन दिनको अवधिमा २६ लाख ८० हजार २२२ राजश्व सङकलन गरिएको प्राधिकरण इनरुवा वितरण केन्द्रका प्रमुख रामउदगार साहले बताए। कार्यालयले सुनसरीको कोशी, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंहलगायत गाउँपालिकामा रातिको समयमा गरिएको अनुगमनका क्रममा विद्युत् चोरी गरेर उपभोग गरिरहेका ६ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेबापत ७३ हजार ५९२ राजश्व सङकलन भएको प्रमुख साहले जानकारी दिए ।

त्यसैगरी २४ लाख १९ हजार १३५ बक्यौता उठाउन बाँकी रहेकामा कार्यालयले जम्मा ११४ ग्राहकको लाइन कट्टा गरी ११४ र थप १४ जना ग्राहकको लाइन जडान गरेबापत असुल हुन बाँकी र थप गरेर जम्मा २६ लाख ६ हजार ६३० गरेर कूल जम्मा २६ लाख ८० हजार २२२ तीन दिनको अवधिमा राजश्व सङकलन भएको छ ।

कार्यालयले विद्युत् चुहावट नियन्त्रण अभियानलाई तीव्रता दिएका कारण अहिले धमाधम विद्युत् चोरी गर्नेहरु नियन्त्रणमा आउन थालेका छन् । कार्यालयले १३८ ग्राहकको बन्द मिटर रहेकामा सबैलाई निःशुल्क रुपमा मिटर वितरण गरेको छ ।