सोमबारको शेयर बजार घट्दा पनि नेप्से सूचक किन रह्यो स्थिर ?

0
Shares

सोमबारको शेयर बजार अघिल्लै दिनको विन्दुमा स्थिर रहेको छ । दिनभरको कारोबारमा उतारचढाब देखिएपनि बजार बन्द हुने समयमा हिजैको विन्दु १११०.०८ अंकमा स्थिर छ ।

नेप्सेको वेभसाइटमा नेप्से सूचक शुन्य अंकले घटेको देखिएको छ । बजार स्थिर रहँदा पनि नेप्सेको संकेत रातो देखिएपछि लगानीकर्तामा अन्यौलता देखिएको छ । बेला बेलामा नेप्सेको वेभसाइटमा समस्या उत्पन्न भइरहदा आत्तिने लगानीकर्तामा यसले कौतुहलता जगाएको छ ।

यस बिषयका प्राविधिक जानकारका अनुसार नेप्सेले वेभसाइटमा दशमलब भन्दा पछिका दुई डिजिट मात्र देखाउने गरेको छ । दशमलब भन्दा दुई डिजिटको अंकमा भएको घटबढ उल्लेख नहुँदा नेप्से स्थिर देखिएको हो । सोमबारको बजारमा दशमलब भन्दा दुई डिजिट पछिको अंकमा पनि गिरावट देखिएकाले नेप्से रातो देखिएको हो । 

सोमबार कारोबारमा आएका १२ उपसमूहमध्ये ६ उपसमूह सकारात्मक देखिएका छन भने ५ वटा उपसमूह नकारात्मक देखिएका छन्। यसदिन बजारमा कूल १६८ कम्पनीको १० लाख ७८ हजार १६ कित्ता शेयर २८ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो । जुन अघिल्लो दिनको तुलनामा ८३ लाख रुपैयाँ बढी हो ।

सोमबार नेपाल इन्भेष्टमेन्ट बैंकको ३ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको ३ करोड ५२ लाख र एनएमबि बैंकको २ करोड ६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । यसदिन मिथिला लघुवित्तको शेयर मुल्य सबैभन्दा धेरै ५.५४ प्रतिशतले बढेको छ ।

सहयात्रा माइक्रोफाइनान्स, अरुण कावेली,एनएमबि माइक्रोफाइनान्स लगायतको शेयर मूल्य धेरै बढेको बजारमा पञ्चकन्या माई हाइड्रोपावरको सबैभन्दा धेरै ६.०९ प्रतिशतले घटेको छ । स्ट्यान्डर्ड चाटर्ड बैंकको ५.४० प्रतिशतले घट्दा आँखुखोला हाइड्रोपावर, एनआइसी एशिया ग्रोथ फण्ड, नेशनल हाइड्रोपावर लगायतको घटेको छ ।