१५ करोड भष्ट्रचारको आरोपमा मालपोतका नायब सुब्बा सहित ९ जना विरुद्ध मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै १५ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ता र उनका परिवारका ३ सदस्यसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

मालपोत कार्यालय कलैया दरबन्दी भई सिमरामा कार्यरत रहेका गुप्ताले १४ करोड ८१ लाख ८९ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको छ।

गुप्ता, उनको परिवारका सदस्य र सहयोगीहरुको नाममा उन्नाइस करोड छत्तीस लाख एकसठ्ठी हजार एक सय उनान्सत्तरी रुपैयाँको खर्च तथा लगानी भएको देखिएकोमा ४ करोड ८१ लाख रुपैयाँ बराबरको सम्पत्ती मात्र वैध रहेको र वैध आयको तुलनामा १४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएकोले उक्त रकम बराबरको विगो जारी गरी जफतसमेत गर्ने प्रयोजनको लागि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

गुप्ताले आफ्नो श्रीमती रीतादेवी¸ छोराहरु विक्की गुप्ता , रकी गुप्ता र अन्य व्यक्तिहरु कविता कुमारी¸ निरजकुमार गुप्ता¸ राजेशकुमार गुप्ता¸ जुगुली प्रसाद र जगतनारायण यादवको नाममा सम्पत्ति राखेको तथा विभिन्न ठाउँमा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ ।

अनुसन्धानको क्रममा संकलित तथ्य प्रमाणहरुबाट निजले आफू तथा आफ्नो परिवारका सदस्यहरु लगायत अन्य व्यक्तिहरु समेतका नाममा दर्ता कायम रहने गरी घर, जग्गा , सवारी साधन र व्यवसाय लगायतका विभिन्न शीर्षकहरुमा खर्च लगानी गरेको पाइएको अख्तियारको भनाई छ ।

गुप्ता २०४७ असार २७ गते मालपोत कार्यालय मुस्ताङ्गबाट खरिदारको पदमा सेवा प्रवेश गरी २०६४ सालमा नायव सुब्बाको पदमा वढुवा भई मालपोत कार्यालय पर्सा हुँदै मालपोत कार्यालय सिमरामा निमित्त कार्यालय प्रमुखका रुपमा कार्यरत थिए।