समस्याग्रस्त संस्थाहरु संगाल्दै समृद्धि फाइनान्स, क्रिष्टल फाइनान्स किन्ने

0
Shares

नेपाल राष्ट्र बैंकले वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई समस्याग्रस्त बाट फुकुवा गरे पछि समृद्धि फाइनान्सको नामबाट वित्तीय कारोबार थालेको समृद्धि फाइनान्सले अर्को समस्याग्रस्त संस्था क्रिष्टल फाइनान्स खरिद गर्ने भएको छ ।

समृद्धि फाइनान्स र क्रिष्टल फाइनान्सबिच गत साता खरिद सम्झौतामा हस्ताक्षर भएको छ । फाइनान्स किन्ने समझदारी गरी राष्ट्र बैंकमा निवेदन दिएको समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत पुष्प प्रसाद श्रेष्ठले बताए । क्रिष्टल फाइनान्स समस्याग्रस्त सूचीमा रहेकाले राष्ट्र बैंकको निर्देशन अनुसार खरिद प्रक्रिया अघि बढ्ने उनले बताए । 

नेपाल राष्ट्र बैंकले क्रिस्टल फाइनान्सलाई २०६९ असोज ७ गते समस्याग्रस्त घोषणा गरेको थियो ।

नयाँ लगानीकर्ताको प्रवेशले वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स समस्याग्रस्त बाट फुकुवा भई समृद्धि फाइनान्स बनेको थियो । चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार फाइनान्सको चुक्ता पूँजी २६ करोड ५६ लाख रुपैंया छ । क्रिष्टल फाइनान्सको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ ।

राष्ट्र बैंकले फाइनान्स कम्पनीहरुको न्युनतम चुक्ता पूँजी ८० करोड रुपैंया कायम गर्नु पर्ने व्यवस्था गरेको छ । सोही अनुसार अब समृद्धि फाइनान्सले पूँजी बिस्तार गर्न क्रिष्टल फाइनान्सलाई किन्न लागेको हो । राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी पुर्याउन फाइनान्सलाई अझै ५३ करोड ४४ लाख रुपैयाँ आवश्यक पर्छ।

फाइनान्सले गत कार्तिक २५ गते समृद्धि फाइनान्सको नामबाट कारोबार सुरु गरेको थियो ।