सामान्य प्रशासनको चौमासिक खर्च ३२ प्रतिशत, ६० झोलुङ्गे पुल निर्माण

0
Shares

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा ३२.१९ प्रतिशत खर्च गरेको पाइएको छ ।

मन्त्रालयले आज चौमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या सामधान समितिको बैठकमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले चालुतर्फ ४०.३१ र पूँजीगततर्फ ३०.०६ प्रतिशत खर्च भएको जानकारी दिए।

मन्त्रालयले चौमासिकमा कूल सात अर्ब १७ करोड १२ लाखमध्ये दुई अर्ब ३० करोड ८४ लाख खर्च भएको छ । चालूतर्फ एक अर्ब ४९ करोड पाँच लाखमध्ये ६० करोड आठ लाखमात्र खर्च भएको छ ।

यस्तै पूँजीगततर्फ पाँच अर्ब ६८ करोड ६ लाखमध्ये एक अर्ब ७० करोड ७५ लाख खर्च भएको छ । चौमासिक समीक्षा बैठकमा मन्त्री हृदयेश त्रिपाठी तोकिएको समयमा नै काम सक्न निर्देशन दिए । उनले सरकारको नीति, योजनामा रहेर जुन शीर्षकलाई छुट्याइएको बजेट सोही शीर्षकमा खर्च गर्न आग्रहसमेत गरे ।

मन्त्रालयले प्रथम चौमासिकमा ६० वटा झोलुङ्गे पुल निर्माण गरेको छ । यसैगरी १०० वटा झोलुङ्गे पुलको विस्तुत प्रतिवेदन र १४४ वटाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रस्ताव आह्वान गरिएको जनाइएको छ ।

मन्त्रालयले १५ वटा झोलुङ्गे पुल निर्माण बनाउनका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनसमेत स्वीकृत गरेको छ ।

यस्तै ६ वटा सडकपुल, १७५ किलोमिटर सडक स्तरोन्नति, १३३ किलोमिटर कालोपत्र, १० वटा खानेपानी आयोजना, १२ वटा सिँचाइ तथा बहुपयोगी योजनासमेत निर्माण गरेको छ । मन्त्रालयले सङ्गठन संरचना तथा दरबन्दी पुनरावलोक कार्यविधि–२०७६ स्वीकृत गरेको छ ।

यसैगरी कर्मचारी समायोजनपश्चात् अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयको सङ्गठन संरचना पुनरावलोकसमेत गरेको छ ।

प्रकाशित मिति: १७ मंसिर २०७६, मंगलबार  १८ : ०१ बजे