ग्लोबल आइएमई बैंक र जनता बैंकको सम्पूर्ण बैंकिङ कारोबार बन्द

0
Shares

ग्लोबल आइएमई बैंक र जनता बैंकको आज मंसिर १९ गते एक दिन सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने भएको छ ।  एक आपसमा गाभिएर मंसिर २० गतेबाट एकीकृत कारोबार थाल्न लागेका दुवै बैंकको सिस्टम डेटा माइग्रेट गर्नुपर्ने भएकाले सेवा बन्द रहने बताइएको छ ।

बैंकका अनुसार मंसिर १८ गते साँझ ६ बजेदेखि मंसिर १९ गते राति १२ बजेसम्म बैंकका एटिएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ सेवा तथा इन्टरनेट बैकिङ सेवा समेत बन्द रहने छन । दुई बैंकले एकीकृत कारोबार थाल्ने दिन मंसिर २० गते शुक्रबारदेखि भने सम्पूर्ण सेवाहरु संचालनमा आउने छन् ।

ग्लोबल आइएमई बैंक र जनता बैंकको गाभिएपछि बन्ने ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १९ अर्ब पुग्नेछ । मर्जरपछि ग्लोबल आइएमइ बैंकको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब, कर्जा लगानी २ खर्ब हुनेछ ।

यस्तै शाखा कार्यालय करिब ३०० पुग्नेछन् । बैंकका एटिएम २ सय ५६ र २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ। यसैगरि बैंकका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी हुनेछन् भने ग्राहकहरु २० लाख नाघ्नेछन् ।

मर्जरपछि बन्ने एकीकृत ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन्। बैंकमा ग्लोबलबाट पाँच जना र जनताबाट दुई जना सञ्चालक रहनेछन् ।

प्रकाशित मिति: १९ मंसिर २०७६, बिहीबार  ०८ : १८ बजे