बैंकहरुमा निक्षेप र कर्जाको असन्तुलन उस्तै, कर्जा बढ्दा घट्न थाल्यो निक्षेप

0
Shares

गत महिनादेखि कर्जा विस्तारलाई नियन्त्रणमा राख्दै आएका बैंकहरुले मंसिर महिनाको दोस्रो सातामा भने आक्रमक रुपमा कर्जा विस्तार गरेका छन् । बैंकहरु कर्जा विस्तारमा आक्रमक भइरहदा निक्षेप भने घटेको छ ।

मंसिर महिनाको दोस्रो सातामा बैंकिङ प्रणालीबाट चार अर्ब निक्षेप घटेको छ । सो अवधमिा बैंकहरुको ७ अर्ब कर्जा प्रवाह गरेका छन् । मंसिरको पहिलो साता ९ अर्ब निक्षेप उठाएका बैंकहरुले कर्जा विस्तार ठप्पै पारेका थिए ।

बैंकहरुले चालु आर्थिक वर्षमा निक्षेप भन्दा धेरै कर्जा प्रबाह गरेका छन । त्यसको लागि गत आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च वढेपछि आएको निक्षेपका कारण लगानी वढाएका हुन ।

चालु आर्थिक वर्षको सुरु भएयता बैंकहरुले एक खर्ब एक अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । चालु आर्थिक वर्षको मंसिर १३ गते सम्ममा वाणिज्य बैंकहरुमा कुल निक्षेप २९ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरुले कुल २६ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन ।

कार्तिक ३० गतेसम्म बैंकिङ प्रणालीको कुल निक्षेप २९ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप रहेको थियो भने २६ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन । मंसिर महिनाको दुई सातामा ५ अर्ब निक्षेप थपिदा ७ अर्ब कर्जा प्रवाह गरेका छन्।