माथिल्लो भोटेकोशीको परीक्षण शुरु, १५ दिनपछि व्यापारिक उत्पादन

0
Shares

पटकपटकको प्राकृतिक प्रकोपबाट झण्डै छ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट शनिबार देखि परीक्षण प्रसारण गरिएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा बाँधस्थल र फुल्पिङकट्टी झिर्पुमा विद्युत्गृह रहेको आयोजनाबाट परीक्षण प्रसारण गरिए पनि आगामी १५ दिनपछि व्यापारिक उत्पादन गरिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिए ।

हाल दुवै युनिट सञ्चालनमा ल्याइए पनि नदीमा पानीको बहाव कम भएका कारण दैनिक २२ देखि २५ मेगावाट मात्र विद्युत् उत्पादन भएको प्रमुख कार्यकारी अधिकृत स्थापितले बताए ।

उक्त आयोजनाको पुनःनिर्माणका लागि दुई वर्षअघि सात अर्बमा चिनियाँ कम्पनी सिनो हाइड्रो ब्युरो ११ सँग सन् २०१९ को डिसेम्बरसम्म सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो ।

सो आयोजनालाई २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारण लाइनका केही टावरमा क्षति पुगेपछि चार महिनासम्म बन्द भएको थियो र मर्मतपछि पुनःसञ्चालनमा आएलगत्तै २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पनले क्षति पु¥याएपछि मर्मत कार्य हुँदै गर्दा २०७३ असार २१ गते आएको भोटेकोशी बाढीले तहसनहस पारी पछि विसं २०७४ मा पुनःनिर्माणको काम शुरु भएको हो ।

गत असार तेस्रो साता चाकुखोलामा आएको बाढीले पनि आयोजनाको प्रसारण लाइनको पाँच वटा टावरलाई क्षति पु¥याएको थियो । भूकम्प र बाढीले तीन किलोमिटर सुरुङ र विद्युत्गृहबाहेक सबैलाई क्षति पु¥याएपछि सम्पूर्ण संरचनालाई नयाँरूपमा जडान गर्नुपरेको आयोजनाले जनाएको छ ।