इरानद्वारा अमेरिका विरूद्ध ३६ अर्ब डलरको ‘प्रतिरोधी बजेट’ घोषणा

0
Shares

इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकाद्वारा इरानविरूद्ध जारी प्रतिबन्धको सामना गर्न ‘प्रतिरोधी बजेट’ को घोषणा गरेका छन्।

अमेरिकी प्रतिबन्धबाट इरानमा परेको प्रभावलाई कम गर्न राष्ट्रपतिद्वारा पाँच अर्ब अमेरिकी डलर बराबर रूसी लगानीसहितको बजेट आइतबार सार्वजनिक गरिएको हो। 

बजेटले अमेरिकी प्रतिबन्ध र इरानमा देशव्यापी चलेको आन्दोलनबाट इरानी अर्थतन्त्रमा परेको प्रभावलाई राहत दिने अपेक्षा गरिएको छ।

बजेटको घोषणा गर्दै राष्ट्रपति रौहानीले बजेटबाट गत महिना इन्धनमा गरिएको मूल्यवृद्धिलाई लिएर आन्दोलनमा रहेका इरानी जनतालाई राहत दिने विश्वास व्यक्त गरेका थिए।

‘सरकारले अमेरिकी नाकाबन्दीका कारण इरानमा परेको प्रभावलाई कम गर्न चार हजार ८८५ ट्रिलियन इरानी रियल (झण्डै ३६ अर्ब अमेरिकी डलर ) को ‘प्रतिरोधी बजेट’ ले राहत गर्नेछ’ संसदमा बजेटबारे बोल्दै राष्ट्रपति रौहानीले भने, ‘हामीलाई थाहा छ नाकाबन्दी र दवाबका कारण इरानी जनता आर्थिक मन्दीको सामना गरिरहेका छन्। नागरिकको क्रयशक्ति घटेको छ। तर इरानी जनता अमेरिकाविरूद्ध सरकारको कार्यक्रममा प्रतिवद्ध रहनेछन्’।

तेल निर्यात प्रमुख आम्दानीको स्रोत रहेको इरानमा नाकाबन्दीका कारण परेको आर्थिक सङ्कटलाई सहयोग गर्ने उद्देश्यले इन्धनमा व्यापक मूल्यवृद्धि भएको र यसविरूद्ध इरानी जनताले सडकमा प्रदर्शनसमेत गरेका छन्। प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा प्रदर्शनकारीको मृत्यु भएका समाचारहरू बाहिरिएका छन्।

अमेरिकाले सन् २०१५ मा भएको इरान आणविक सम्झौतामा अमेरिकालाई कुनै लाभ नभएको भन्दै पुनः सम्झौता गर्न इरानमाथि दवाब दिन नाकाबन्दी गरिएको जनाउँदै आएको छ। इरानी अर्थतन्त्रमा पछिल्ला केही बर्षमा परेको प्रभावका कारण इरानले व्यापक मुद्रास्फीतिको सामना गरिरहेको छ ।