एडीबीले पोखरा–मुग्लिन सडकसहित चार परियोजनामा खर्च गर्न ४० अर्ब ४५ करोड ऋण दिने

एडीबीले पोखरा–मुग्लिन सडकसहित चार परियोजनामा खर्च गर्न ४० अर्ब ४५ करोड ऋण दिने

एसियाली विकास बैंक (एडीबी)  ले ४ वटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ४० अर्ब ४५ करोड ४० लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

बैंकले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि २२ अर्ब ३५ करोड, खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित बागमती नदी सरसफाइका लागि अतिरिक्त लगानीस्वरुप ७ अर्ब ११ करोड ९० लाख उपलब्ध गराउनेछ ।

यसैगरी, जीविकोपार्जन सुधार तथा साना किसानको आयआर्जन वृद्धिका लागि ५ अर्ब ६५ करोड र कृषि तथा खाद्य सुरक्षासम्बन्धी नेपाल सरकारका नीतिगत सुधारका कार्यक्रममा सघाउन ५ अर्ब ६५ करोड प्रदान गर्नेछ । नयाँ परियोजना कार्यान्वयनका निम्ति ऋण प्राप्त गर्नेसम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा बैंकका देशीय निर्देशक मुख्तोर खामुद खानोभ र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे ।

दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत उपलब्ध हुने उक्त ऋण ८१ किलोमिटर लामो मुग्लिन–पोखरा सडकको पोखरा–आँबुखैरनीखण्डलाई ४ ‘लेन’ मा विस्तारमा उपयोग गरिनेछ । त्यसैगरी बागमती नदीको सौन्दर्यीकरणका साथै ढल प्रशोधन केन्द्र निर्माण गरिनेछ ।

त्यस अवसरमा देशीय निर्देशक खामुद खानोभले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति एडीबीले उल्लेख्य मात्रामा सहायता रकम वृद्धि गरेको बताउँदै त्यसले बैंक र नेपाल सरकारबीचको साझेदारी एवं सहकार्यलाई उजागर गर्ने बताए । सचिव खनालले नेपालको अर्थतन्त्रको उन्नयन, भौतिक पूर्वाधार निर्माण, कृषि तथा ग्रामीण क्षेत्रका आर्थिक विकासमा एडीबीले निरन्तर सहयोग गरेकामा आभार प्रकट गरे ।

प्रकाशित मिति: २५ मंसिर २०७६, बुधबार ०८ : १७ बजे