नेपाल बङ्गलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (मंसिर २५ गते, बुधबार) अन्तिम दिन हो।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बैंकले मंसिर २६ गतेदेखि बुकक्लोज गर्ने भएकाले मंसिर २५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

बैंकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले पुस ७ गते सोमबार राष्ट्रिय सभागृह काठमाण्डौंमा पच्चिसौं वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभाले लाभांशका साथै अन्य कुनै बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्ति सहमति गर्न तथा सो सम्बन्धमा बैंकको तर्फबाट गर्नुपर्ने सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपश्चात पूँजी ८ अर्ब ४९ करोड २७ लाख १४ हजार रुपैयाँ पुग्नेछ।