नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आईपीओ जारी गर्ने, आज एजिएम

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली धितोपत्र बजारमा हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्ने भएको छ । बैंकको आज हुने पहिलो वार्षिक साधारण सभाले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्दैछ ।

बैंकको साधारण सभा मंसिर २९ गते र्या्डिसन होटलमा बेलुका ४ बजेदेखि सुरु हुनेछ।

साधारण सभाले साधारण शेयर निष्काशनका साथै बैंकको चुक्ता पूँजी वृद्धि गरी २० अर्ब पुर्याउने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने र संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्नेछ। आईपिओ जारी गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्दश्येले खोलिएको बैंकले अहिलेसम्म कुल ८ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकले कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनामा लगानी गरेको छ।

बैंकले अन्य बैंकहरुमा ७ अर्ब ३८ करोड रुपैयाँ जम्मा गरेर राखेको छ। त्यस्तै ५ अर्ब ७३ करोड रुपैयाँ नगदको रुपमा रहेको जनाएको छ। शेयरमा १२ करोड ५९ लाख रुपैयाँ लगानी गरेको छ।

पुर्वधारमा लगानी गर्ने भनिए पनि बैंकले आयोजना फेला पार्न नसक्दा आफुसँग भएकै पूँजी बैंकमा जम्मा गरेर राख्नु पर्ने अवस्था आएको हो।

बैंकले लगानीको स्रोत जुटाउनका लागि स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने, दीर्घकालीन निक्षेप संकलन गर्ने, ऋणपत्र जारी गर्ने, विदेशबाट ऋण ल्याउने लगायतका कार्यहरु गर्नेछ। सार्वजनिक तथा निजी साझेदारीमा स्थापना भएको बैंकले अन्तर्रा्ष्ट्रिय सार्वजनिक तथा निजी क्षेत्रहरुसँग सहकार्य गरी लगानी भित्र्याउने छ।

बैंकमा सरकारको १०, बीमा कम्पनीहरुको १८. ९७, वाणिज्य बैंकहरुको २०. ८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४. ९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहनेछ।