नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २ आयोजनामा ३ अर्ब लगानी, विदेशबाट ५ अर्ब भित्र्याउँदै

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइतबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले साधारण शेयर निष्काशनका साथै बैंकको चुक्ता पूँजी वृद्धि गरी २० अर्ब पुर्याउने प्रस्ताव पनि पारित गरेको छ । आईपिओ जारी गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई गत फाल्गुण महिनाबाट औपचारिक कारोबार प्रारम्भ गरेको बैंकले २ वटा जलविद्युत् आयोजनाहरुमा ३ अर्ब लगानी गर्ने भएको छ । बैंकले लगानी स्वीकृत गरिसकेको जनाएको छ ।

साथै बैंकले सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधारका परियोजनाहरुमा लगानी गर्न आवश्यक अध्ययन गरिरहेको साधारण सभामा समेत जानकारी गराएको छ । उक्त परियोजनाहरुलाई आवश्यक स्रोत संकलन गर्दै निकट भविष्यमै लगानी विस्तार गर्दे जाने बैंकको योजना रहेको छ ।

साथै साधाण सभाले अनुज अग्रवाल,चन्द्र प्रसाद ढकाल र लालमणि जोशीलाई आगामी ४ वर्षे कार्यकालको लागि सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ भने रामशरण पुडासैनी नेपाल सरकारबाट मनोनित भएका छन् ।

मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्धेश्य लिई स्थापना भएको यस बैंकले विदेशी वित्त बजारबाट अफशोर बोण्ड जारी गरी ५ अर्ब भित्र्याउने कार्य अघि बढाई सकेको जानकारी पनि दिएको छ ।

बैंकमा सरकारको १०, बीमा कम्पनीहरुको १८. ९७, वाणिज्य बैंकहरुको २०. ८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४. ९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहनेछ।