उखुको सर्मथन मूल्य गत वर्षकै कायम

0
Shares

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखुको सर्मथन मूल्य गत बर्षकै कायम गरेर मन्त्रिपरिषद्मा पेश गरेको छ । उखुको समर्थन मूल्य किसान र उद्योगीहरुसंगको छलफलबाट नै तोकिएको मन्त्रालयले जनाएको छ ।

गत बर्ष जस्तै यस बर्ष पनि किसानले प्रतिक्वीन्टल ५३६ रुपैयाँ ५६ पैसा पाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति व्यवस्था महाशाखा प्रमुख सह सचिव धुव घिमिरेले जानकारी दिए ।

जसमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान सरकारले उपलब्ध गराउने छ भने बाँकी रकम चिनी उद्योगीले किसानलाई उपलब्ध गराउने घिमिरेले बताए ।

मंसिर दोस्रो साता मन्त्रालयमा उद्योगी र किसान प्रतिनिधिसंग भएको छलफलमा गत वर्षकै मूल्यमा उखु खरिद र बिक्रिका लागि समझदारी बनेको मन्त्रालयको दाबी छ ।

यस्तै कृषि मन्त्रालयले पनि उखुको सर्मथन मूल्यबारे किसान र उद्योगीसंग छलफल गरेको थियो । गत वर्षकै मूल्यमा मिलहरुलाई उखु क्रसिङ गर्न समझदारी गरेर उखु काट्न सुरु गरिएको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमणी मैनालीले भने।