समता लघुवित्तको लाभांश सहितको लिलामी शेयरमा आवेदन खुल्यो

0
Shares

समता लघुवित्त वित्तीय संस्थाले लिलामीमा राखेको १ लाख ६१ हजार ७३८ कित्ता शेयरका लागि शुक्रबारदेखि आवेदन खुलेको छ । कम्पनीले संस्थापक समूहको ८४ हजार ५९८ कित्ता र सर्वसाधारण समूह तर्पmको १ लाख ६१ हजार ७३८ कित्ता शेयर लिलामी मार्फत बिक्री खुला गरेको हो ।

समताले गत असोजमा निष्काशन गरेको २०० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलामी गर्न लागेको हो। लिलामी शेयरको न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर आवेदन पेश गर्नुपर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय लगायत नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न शाखाहरु मार्फत आवेदन दिन सक्नेछन् ।

हाल ६ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात १८ करोड २० लाख १६ हजार रुपैयाँ पुगेको छ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस र कर सहित ५.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । लिलामी शेयर सकार्नेले समेत यो लाभांश पाउनेछन् ।

बिहीबार यो कम्पनीको शेयर प्रतिकित्ता ५३९ रुपैयाँमा कारोबार भएको थियो।