तीन जलविद्युत परियोजनाको लागि झण्डै ८५ अर्बको लगानी स्वीकृत

0
Shares

लगानी बोर्डको ४२ औं बैठकले विभिन्न तीन जलविद्युत परियोजनाको लागि झण्डै ८५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेकोछ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत परियोजनाको ६५ अर्ब, मर्स्याङदी वेंसी जलविद्युत परियोजनाको ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली-३ बी जलविद्युत परियोजनाको ८ अर्ब २२ करोड ७४ लाख बराबरको लगानी स्वीकृत गरेको बोर्डका प्रवत्ता बलराम रिज्यालले जानकारी दिए ।

माथिल्लो त्रिशुली १ जलविद्युत परियोजना नेपाल र कोरियाको संयुक्त लगानीमा निर्माण हुन लागेको हो । २१६ मेगावाटको यो आयोजना नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण सुरु गरेको छ । यस्तै, निजी लगानीमा मस्र्याङदीवेसी र नेपाल विद्युत प्राधिकरणमार्फत माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण भइरहेको छ ।

बैठकले निर्माणधिन अरुण तेस्रो जलविद्युत आयोजनाको छ्याङकुटी-दिदिङ प्रवेशमार्गमा रहेको मुआब्जा विवाद सम्बन्धमा अध्ययन गर्न गठित छानविन समितिलाई थप प्राविधिकसहितको जनशक्ति उपलब्ध गराएर दुई महिनाभित्रै यर्थाथ विवरण पेश गर्ने निदेर्शन सहित पुर्नगठन गरेको छ।

त्यस्तै बैठकले कर्णाली प्रदेशको वीरेन्द्रनगर, प्रदेश ३ को बनेपा र चितवन, सुदूरपश्चिम प्रदेशको गोदावरी–अत्तरीया, गण्डकी प्रदेशको हेम्जा, प्रदेश १ को उर्लाबारी तथा प्रदेश २ को पर्सागढीमा एकीकृत कृषि परियोजना विकास गर्न सम्बन्धित प्रदेश सरकारहरु र संघीय मन्त्रालयलाई परियोजना हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।

साथै परियोजना कार्यान्वयन प्रक्रिया अघि बढाउन विकासकर्ताको छनोट गर्ने लगायतका कार्यमा आवश्यक प्राविधिक सहयोग, समन्वय तथा सहजीकरण गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिने निर्णय समेत गरेको बोर्डले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले ठुला परियोजना निर्वाध रुपमा विना अवरोध कार्यान्वयन हुनुपर्ने बताउदै सहजीकरणमा जोड दिएका थिए ।