चिनी उद्योगी वाणिज्यमन्त्रीको सम्पर्कमा, उखु किसानको रकम एकसाताभित्र तिर्ने प्रतिवद्धता

0
Shares

सुरेन्द्र थापा

किसानलाई उखु खरिद गरेको रकम भुक्तानी नदिने चिनी उद्योगका केहि सञ्चालकहरु उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमा आएका छन् ।

गृह मन्त्रालयले उखु किसानको भुक्तानी नदिने इन्दिरा सुगर एन्ड एग्रो ईं प्रा.लि. र अन्नपूर्ण सुगर एन्ड जनरल ईं प्रा.लिका सञ्चालक राकेशकुमार अग्रवाललाई सम्पर्कमा ल्याउन सोमबार प्रहरीलाई पत्र काटेको थियो ।

गृह मन्त्रालयले उखु किसानको भुक्तानी नदिने चिनी उद्योगीलाई तत्काल सम्पर्कमा ल्याउन प्रहरीलाई निर्देशन दिए लगत्तै उद्योगीहरु उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सम्पर्कमा आएका हुन् ।

मंगलबार उद्योग वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिको बैठकमा मन्त्री भट्टले महालक्ष्मी सुगर मिलका संचालक विरेन्द्र कनेडिया र अन्नपूर्ण सुगर एन्ड जनरल ईं प्रा.लिका सञ्चालक राकेश कुमार अग्रवाल आफ्नो सम्पर्कमा आएको जानकारी दिए ।

उनीहरुले उखु किसानहरुको बक्यौता रकम एक साताभित्र तिर्ने प्रतिवद्धता जनाएको समेत मन्त्री भट्टले जानकारी दिए । यो बर्षको उखुको पैसा पनि यसै बर्षभित्र तिर्न चिनी उद्योगीहरुले प्रतिवद्धता जनाएको मन्त्री भट्टको भनाई छ ।

आठ वटा सुगर मिलले किसानहरुलाई एक अर्ब ४१ करोड रुपैयाँ भुत्तानी गर्न बाँकी छ भने सरकारले समेत किसानहरुलाई दिनुपर्ने अनुदान एक अर्ब ३४ करोड बाँकी छ ।