टेलिकमको फोरजी सेवा ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोगमा, २३०० मेगाहर्जमा समेत सेवा सञ्चालन गर्ने

0
Shares

नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको जानकारी दिएको छ ।

ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोगमा रहेको टेलिकमले जनाएको छ ।

हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेटहरु १८०० मेगाहर्जमा चलाउन सकिने भए तापनि ८०० मेगाहर्ज प्रयोग गर्न सकिने मोबाइल सेट भने सीमित मात्र उपलब्ध भएकाले  मुलुकका विकट, दुर्गम र अधिकांश ग्रामीण भेगमा उपलब्ध ८०० मेगाहर्जमा फोरजी सेवा संचालनका लागि यही व्याण्डमा चल्ने मोबाइल सेट प्रयोग गर्न पनि टेलिकमले आग्रह गरेको छ । फोरजीको अधिकतम उपादेयताको लागि दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्न समेत जोड दिएको छ ।

नयाँ मोबाइल सेट किन्दा यसको बक्समा उपलब्ध विस्तृत प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिने र त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्न पनि टेलिकमले सुझाब दिएको छ । यसो भएमा आवश्यकता अनुसार फोरजी वा अन्य प्रविधि प्रयोग गर्न सकिने टेलिकमको भनाई छ ।

कम्पनीले निकट भविष्यमा २३०० मेगाहर्ज (ब्यान्ड ४०) मा समेत फोरजी सेवा सञ्चालन गर्ने योजना बनाएको जानकारी दिएको छ । यसको उपलब्धता सँगै ग्राहकले फोरजी सेवालाई अझै बढी सहजताका साथ अझ तीब्र गति र गुणस्तरमा सेवा प्राप्त गर्न सक्ने टेलिकमको भनाई छ ।

हाल कम्पनीले मुलुकका ६४ जिल्लामा फोरजी सेवा उपलब्ध गराइसकेको छ । यस सेवाका प्रयोगकर्ता मुलुकभर गरी २८ लाख नाघेका छन् ।