राष्ट्र बैंकले विद्युतिय कारोबारको सीमा बढायो, एटीएम बुथमा सुरक्षा गार्ड राख्न नपर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यम वालेट बाट भुक्तानी गर्न पाउने तथा एटिएमबाट निकाल्न पाउने रकमको सीमा बढाएको छ । राष्ट्र बैंकले विहिबार एकिकृत निर्देशन जारी गर्दै विद्युतीय कारोबारको सीमा बढाएको हो ।

अब वालेट मार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने भएको छ । यसअघि लाख रुपैयाँसम्म मात्र भुक्तानी गर्न पाइने सुविधा थियो । यसैगरी एक वालेटबाट अर्काे वालेटमा ट्रान्सफर गर्न पाइने रकम २५ हजार बाट बढाएर मासिक ५० हजार रुपैयाँसम्म गर्न पाइने व्यवस्था गरेको छ ।

तर, एक कारोबार दिनमा २५ हजार मात्रै ट्रान्सफर गर्न पाइने राष्ट्र बैंकको भनाई छ । वालेटबाट वालेट वाहकको बैंक खातामा रकमान्तर गर्दा भने सीमा तोकिएको छैन । वालेटबाट मासिक ५ हजार रुपैयाँभन्दा बढी कारोबार गर्ने ग्राहकलाई भने अनिवार्यरुपमा नो योर कस्टुमर (केवाइसी) फारम भराउनु पर्ने व्यवस्था पनि गरेको छ ।

साथै केन्द्रीय बैंकले मोबाइल बैंकिङ सेवा मार्फत एक दिनमा ५० हजार रुपैयाँ र प्रतिमहिना २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकका अनुसार इन्टरनेट बैंकिङ (मर्चेन्ट बैंकिङ) मा प्रतिदिन १० लाख प्रतिमहिना ३० लाख र इन्टरनेट बैंकिङ (एकाउन्ट ट्रान्सफर) मा प्रति दिन १० लाख र महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

साथै राष्ट्र बैंकले एटीएम कार्ड प्रयोग गरी निकाल्न पाउने रकमको सीमा ५ हजार रुपैयाँले बढाएको छ । अब ग्राहकले एकपटकमा एटिएमबाट २५ हजार रुपैयाँसम्म निकाल्न पाउनेछन् भने एक दिनमा भने १ लाख रुपैयाँसम्म निकाल्न पाइने व्यवस्था गरेको छ । यसअघि २० हजार रुपैयाँ मात्रै निकाल्न पाइने व्यवस्था थियो ।

त्यस्तै राष्ट्र बैंकले प्रत्येक एटीएम बुथमा सुरक्षा गार्ड राख्न नपर्ने निर्देशन समेत दिएको छ ।