अर्थ मन्त्रालयका उपसचिव ढुङ्गाना विरुद्ध ४ करोड ६८ लाखको भष्ट्रचार मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोले अर्थ मन्त्रालयका एक उपसचिव विरुद्ध चार करोड ६८ लाखको भष्ट्रचारको मुद्दा दर्ता गरेको छ ।

आयोगले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानूनी तरिकाले सम्पत्ति आर्जन गरेको आरोमा उपसचिव राजेन्द्र ढुङ्गाना बिरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।

उपसचिव ढुङ्गानाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४९ साउन १९ देखि २०७५ असार ३२ गतेसम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपियाँ देखिएको छ ।

उक्त बैध आयको तुलनामा निजले सोही अवधिमा गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ रुपियाँ अस्वाभाविक देखिएको आयोगको अनुसन्धानले देखाएको छ ।  उनले गरेको खर्च तथा लगानी मध्ये ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपियाँको स्रोत खुल्न नआएको ठहर सहित आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता कोइरालाले जनाएका छन् ।

ढुंगानालाई भ्रष्टाचार निवारण ऐन अनुसार ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँको बिगो कायम गरी जरिवाना र कैदको सजाय माग दाबी गरिएको छ ।

ढुङ्गानाले सार्वजनिक सेवाको पदमा रहदा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिहरु श्रीमती मधु कोइराला (ढुङ्गाना) को नाममासमेत खरिद गरी राखेको देखिएको छ । आयोगले उनकी श्रीमती कोइराला समेतलाई प्रतिवादी बनाई आरोपपत्र दायर गरेको जनाएको छ।